प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार बिहान फेसबुकमा आफ्नो हात जोडेको तस्बिरसहितको एक पोस्ट सार्वजनिक गरे। तस्बिरको पृष्ठभूमिका दैलेखमा पेट्रोलियम पदार्थको सम्भावना अध्ययन गर्नका लागि स्थापना गरेको क्याम्प देखिन्छ।
तस्बिरको शिरमा ठुलो भ्यागुते अक्षरमा लेखिएको छ–खुसी। र मुनि लेखिएको छ, ‘दैलेखमा ११२ अर्ब घन मिटर प्राकृतिक ग्यासको प्रारम्भिक अनुमान। जुन एक समाचार शीर्षक मात्रै देखिन्छ। तर तस्बिरको क्याप्सनमा भने प्रधानमन्त्री ओली केही पोखिएका छन्।
‘दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु । समर्थन र विरोध–आवाज थरिथरिका थिए,’ क्याप्सनमा लेखिएको छ, ‘११२ अर्ब घन मिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ। यो खुसीको समाचार हो।’
प्रधानमन्त्री ओलीले यो खबरबारे शुक्रवार बिहान मात्रै अभिव्यक्ति दिए पनि नेपाली सञ्चारमाध्यममा बिहीबार दिउँसो देखि नै छ्यापछ्याप्ती आउन थालिसकेको थियो।
हालसम्म प्राप्त सूचनाअनुसार दैलेखमा चिनियाँ विज्ञ टोलीले गरिरहेको अन्वेषणमा भैरवी गाउँपालिका–१ जलजलेमा ११२ अर्ब घन मिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक प्रतिवेदन प्राप्त भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरेको छ।
चिनियाँ टोलीले दिएको प्रतिवेदनअनुसार नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्याँस रहेको अनुमान गरिएको छ। विभागका अनुसार करिब चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गरिएको छ। यो ग्यास व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सके मुलुकको अर्थतन्त्रलाई ठुलो योगदान पुग्ने विज्ञहरूको तर्क छ। दैलेखमै अन्य तीन वटा भण्डारण पनि रहेको अध्ययनमा देखिएको छ।
यो समाचार आएसँगै अहिले प्रधानमन्त्री ओली र नेकपा एमाले जस लिने होडबाजीमा उत्रिएका छन्। शुक्रवार ग्वार्कोको ओभर पास उद्घाटन गर्न पुगेका बेला प्रधानमन्त्री ओलीले प्रस्ट भाषामा दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम आफूले थालेको दाबी गरेका थिए।
‘हिजो मात्रै एउटा समाचार आयो, आज अखबारहरूमा व्यापक महत्वका साथ स्थान पायो। त्यो कुरा दैलेखमा नेपाललाई कमसे कम ५० वर्ष पुग्नेगरीको मिथेन ग्यास पत्ता लाग्यो,’ प्रधानमन्त्री ओलीले भनेका थिए,‘त्यो प्रमाणित भयो कि ११२ मिलियन मेट्रिक टन होला सायद। अर्थात् ठुलो मात्रामा ५० वर्ष पुग्ने गरी भेटियो।’ त्यो पनि एउटा कुवाबाट मात्रै त्यत्रो भेटिएको उनले भन्न भ्याए। ‘एउटा वेलबाट मात्रै। त्यहाँ तीन वटा वेल छ। यो खुसीको कुरा आयो। जुन कुरा यो फ्लाई ओभर सुरु गरेजस्तै त्यसको सुरुवात पनि मैले नै गरेको हो,’ प्रधानमन्त्री ओलीले यसरी जस लिन खाजे।
प्रधानमन्त्री ओलीले नै यसरी जस लिन खोजेपछि एमालेका नेता कार्यकर्ता सामाजिक सञ्जालदेखि चिया चौतारीसम्म त्यसको लयमा लय मिसाउन थालेका छन्।
प्रधानमन्त्री ओली र एमालेका नेता कार्यकर्ता त जस लिने होडमा थिए नै, शनिवार त्यो होडमा नेकपा माओवादी केन्द्र पनि मिसिएको छ। माओवादी केन्द्रका सांसद राजन दाहालले फेसबुकमार्फत नै एमाले नेता कार्यकर्ताविरुद्ध कटाक्ष गर्दै आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको निर्णायक नेतृत्वले दैलेखमा ग्यास अन्वेषण भएको दाबी गरेका छन्।
‘हजार तर्क हुन सक्छन् तर सत्य एउटै हुन्छ। बा(प्रधानमन्त्री ओली) का अनुयायीहरूले सत्य पढ्न कष्ट गरिदिनु होला’ भन्दै लामो स्टाटस राखेका सांसद दाहालले अगाडि लेखेका छन्, ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डको निर्णायक नेतृत्वले जीवन्त बन्दै दैलेख ग्यास अन्वेषण परियोजना।’

सांसद दाहालले ‘नेपालको ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा ऐतिहासिक परिवर्तन ल्याउन सक्ने दैलेखको प्राकृतिक ग्यास अन्वेषण परियोजना माओवादी अध्यक्ष दाहालको दीर्घकालीन रणनीति र सक्रिय पहलका कारण पुनः सुरु भई निष्कर्षतर्फ अघि बढिरहेको’ दाबी गरेका छन्।
त्यसपछि उनले नेपालमा पेट्रोलियम अन्वेषणको प्रारम्भिक चासो पञ्चायती शासनअन्तर्गत २०३०–४० को दशकदेखि देखिए पनि दैलेख जिल्लामा कुनै ठोस पहल नभएको कुरा उल्लेख गरेका छन्।
‘तर २०७२ सालमा भारतले गरेको नाकाबन्दीपछि दैलेखको श्री स्थान र नाभिस्थान क्षेत्रबाट निस्किएको प्राकृतिक ग्यासको सतही उत्सर्जनले यहाँ पेट्रोलियम स्रोतको गम्भीर सम्भावना रहेको संकेत ग¥यो’, सांसद दाहालले लेखेका छन्।
२०७३ सालमा दाहाल प्रधानमन्त्री बनेपछि नेपाल र चीनबिच सरकार–सरकार(जिटुजी) प्रारम्भिक समझदारी सम्पन्न भएको उल्लेख गर्दै सांसद दाहालले लेखेका छन्, ‘जसले दैलेख ग्यास परियोजनालाई राष्ट्रिय प्राथमिकतामा ल्यायो। सो समझदारीमा पहिलो चरण ६ महिनाभित्र र सम्पूर्ण परियोजना २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।’
पेट्रोलियम अन्वेषणलाई ऊर्जा स्वतन्त्रताको रणनीतिक अङ्गका रूपमा हेर्ने दाहालको दृष्टिकोणले नेपाल–चीन सहकार्यको आधारशिला बनाएको सांसद दाहालको दाबी छ।
‘२०७५ सालमा चीनसँग औपचारिक (जिटुजी) सम्झौता भएपछि २०७६ असोजमा सिस्मिक, भूगर्भीय र रासायनिक सर्वेक्षण कार्य सुरु भयो। तत्कालीन उद्योग मन्त्री एवं माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले २०७६ मा दैलेखको नाभिस्थानमा अन्वेषणको शिलान्यास गरे,’ उनले लेखेका छन्, ‘तर, २०७६ फागुनमा सुरु भएको कोरोना महामारीले चिनियाँ टोली फिर्ता हुन बाध्य बनायो, जसका कारण सन् २०२२ भित्र अन्वेषण कार्य सम्पन्न गर्ने लक्ष्य स्थगित भयो।’
त्यसपछि २०७८ चैतमा मन्त्रिपरिषद्ले परियोजनाको म्याद दुई वर्ष थप गरेको, २०७८ भदौमा ग्यास र पेट्रोलको भण्डार रहेको पुष्टि भएको भन्ने कुरा सांसद दाहालको स्टाटसमा उल्लेख छ।
‘२०७९–८० मा प्रधानमन्त्रीको तेस्रो कार्यकालमा रहेका प्रचण्डले २०८० जेठ १ गते (जुन १४, २०२३) जलजले स्थित अन्वेषण स्थलको निरीक्षण गरेपछि रोकिएको परियोजनालाई पुनः सक्रिय बनाउने ठोस कदम चाल्नुभयो। निरीक्षणपछि चिनियाँ पक्षसँग उच्चस्तरीय संवाद गर्दै प्राविधिक सहयोग सुनिश्चित गरियो,’ स्टाटसमा उल्लेख छ।
एमाले–माओवादीले जस लिने होडबाजी गरिरहे पनि यो विषय २०७२ सालमा भारतले नाकाबन्दी लगाउँदा पेट्रोलियम पदार्थको विकल्पबारे छलफल सुरु भएदेखि बढी उठेको हो।
त्यसपछि सरकारले चीनलाई पेट्रोलियम पदार्थ र ग्याँसको अध्ययन गर्न अनुरोध गरेको थियो। चीनका विज्ञसहितको टोलीले २०७६ देखि अन्वेषण सुरु गरेको थियो। यसमा त्यसयता बनेका सबैजसो प्रधानमन्त्री र सरकारहरूको भूमिका छ।
एमाले र माओवादीबिचमा जस लिने होड सुरु भइसक्दा दैलेखमा ग्यासको व्यवसायिक उत्खनन गर्न मिल्ने वा नमिल्ने टुंगो लागिसकेको छैन। जुन अन्तिम प्रतिवेदनबाट टुङ्गो लाग्ने विभागले जनाएको छ। चीनको जिओलोजिकल सर्भे कम्पनीले २०२५ को डिसेम्बरसम्म अन्तिम प्रतिवेदन दिने भनिएको छ।
प्रकाशित: ७ असार २०८२ १५:२५ शनिबार