राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई सत्ताको लत लागेको टिप्पणी गरेका छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
दाहालको व्यक्तित्व नै विरोधाभाषपूर्ण रहेको उल्लेख गर्दै विश्लेषक आचार्यले भने, 'अलिलि जनता देख्नुहुन्छ, अब म ०८४ सम्म सत्तामा जान्नँ भन्नुहुन्छ। यसो तराईतिर घुमेर १००/५० कार्यकर्ता देख्नुभयो भने अब म त प्रतिपक्षमै बस्ने हो भन्नुहुन्छ। फेरि काठमाडौं आउनुहुन्छ, उहाँमाथि दबाब पर्छ, सत्तामा नजाँदा त पार्टी कमजोर भयो, पार्टीभित्रैका गुटहरू बलियो हुन थाले भनेपछि फेरि सत्ताको चलखेलमा लागिहाल्नुहुन्छ। उहाँले लिने बाटोमा उहाँ आफैँ कन्फ्यूज हुनुहुन्छ।'
यसअघि उपनिर्वाचनताका दाहालले आफ्नो पार्टी र आफूप्रति केही जनविश्वास 'गेन' गरेको भए पनि अहिलेको दुई बुँदेसम्म आउँदा त्यो फेरि गुमेको आश्यको विश्लेषण आचार्यको छ।
'प्रतिपक्ष हो भन्नुहुन्छ, सत्तापक्षसँग गएर कसैले नबुझ्ने दुईबुँदे गर्नुहुन्छ। अर्कोतिर मध्यपहाडी लोकमार्गतिर जानुहुन्छ, कार्यकर्ता देखेपछि ओहो ! म त २०६४ को जतिकै प्रचण्ड भएँ भन्नुहुन्छ। त्यो बीचमा हो पनि, उपनिर्वाचनताका उहाँले केही गेन पनि गर्नुभएको हो, रिजल्ट पनि त्यस्तै देखिन्थ्यो। विद्यार्थी राजनीतिले पनि त्यही देखायो। तर, जब काठमाडौं फर्किनुहुन्छ, उहाँ र उहाँका वरिपरिका बढी सिंहदरबार बसेर हो कि के हो, बढी सत्ताको लत लागेको छ। जुवाडेलाई जुवाको लत हुन्छ, जँड्याहालाई जाँडको लत हुन्छ, उहाँलाई सत्ताको लतचाहिँ यस्तो लागेको छ कि उहाँले सत्ताको बाहेक अरु चलखेल गर्न सक्नुहुन्न। बाहिरै बसेको भएचाहिँ जनतासँग अलिक नजिक हुनुहुन्थ्यो कि,' उनले भने।
प्रकाशित: ४ असार २०८२ २०:०९ बुधबार