१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

‘मानव जीवनको महत्त्वपूर्ण काम रक्तदान पनि हो’

उपचारका लागि रगतको अभाव भएपछि ब्लड डोनर्स सोसाइटी चितवनले आज यहाँ रक्तदान महोत्सव गरेको छ। विश्व रक्तदाता दिवस २०२५ का अवसरमा उद्योग सङ्घको प्रदशनी केन्द्रमा रक्तदान  महोत्सव आयोजना गरिएको हो।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महोत्सवको उद्घाटन गरिन्। उनले अस्पतालको केन्द्र बन्दै गरेको चितवनमा आयोजित महोत्सवले रगतको अभाव हुने समस्या समाधान गर्नेमा विश्वास व्यक्त गरिन्।

प्रमुख दाहालले भनिन्, “मानव जीवनको महत्त्वपूर्ण काम रक्तदान पनि हो, जसले कसैको ज्यान बच्न सक्छ, रक्तदातालाई प्रोत्साहन गर्न आवश्यक छ।”

जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले नयाँ रक्तदाता खोजेर रक्तदानमा उत्प्रेरित गर्नुपर्ने बताए। समाजमा युवालाई रक्तदान गर्दा शरीरमा हानि हुँदैन भन्ने ज्ञान दिन जरुरी रहेको उनको भनाइ छ। सोसाइटी चितवनका अध्यक्ष एकराज पाठक, सोसाइटीका रत्ननगर नगरपालिका अध्यक्ष रमेश नेपाललगायतले रक्तदानबारे चर्चा गरेका थिए।

महोत्सवमार्फत ७५ प्रतिशत नयाँ रक्तदाता ल्याउने अपेक्षा लिइएको सोसाइटीका अध्यक्ष अर्जुन अधिकारीले बताए। उनले ‘एक घर, एक रक्तदाता’ अभियान सञ्चालन गरी रक्तदाता बढाउने काम भइरहेको समेत उल्लेख गरे।

एक दिनमा एक हजार ५ सय युनिटभन्दा बढी रगत सङ्कलन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको जनाइएको छ। त्यस अवसरमा  १०० भन्दा बढी पटक रक्तदान गर्ने रक्तदातालाई सम्मान गरिएको थियो।

सोसाइटीका अनुसार हाल चितवनका अस्पतालमा दैनिक १५० युनिट रगतको माग छ। अहिले प्रादेशिक रक्तसञ्चार केन्द्रमा औसतमा ३० देखि ४० युनिट मात्र रगत उपलब्ध हुँदै आएको छ।

प्रकाशित: ३१ जेष्ठ २०८२ १३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App