नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीसँग मुस्ताङलाई नमूना जिल्लाको रूपमा विकास गर्ने स्पष्ट योजना रहेको बताएका छन्।
मुस्ताङका विभिन्न पालिकाका पार्टी सदस्यहरूको संयुक्त सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जिल्लाको वस्तुगत अवस्था बुझेर समाधानका लागि इमानदारीपूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे।
‘हामीले मुस्ताङको अवस्था बुझ्न स्थलमार्ग हुँदै गाउँगाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरेका छौँ,’ अध्यक्ष दाहालले भने, ‘यहाँका समस्या बुझेका छौँ र मुस्ताङलाई कसरी अघि बढाउने भन्ने मुख्य उद्देश्य लिएर आएका छौँ।’ उनले विकास र समृद्धिको यात्रामा माओवादी केन्द्र प्रतिबद्ध रहेको दोहोऱ्याए।
पार्टी प्रशिक्षणका क्रममा अध्यक्ष दाहालले माओवादी अन्य पार्टीभन्दा फरक रहेको दाबी गरे। ‘माओवादी अरुजस्तो पार्टी होइन, हामी जनताको हितका लागि काम गर्छौं,’ उनले भने, ‘तर कांग्रेस र एमाले बिचौलिया र दलालका लागि काम गरिरहेका छन्।’
उनले माओवादी नेता तथा कार्यकर्ताहरूलाई जनतामाझ पुग्न, उनीहरूको आत्मसम्मान जोगाउन र समस्या समाधानमा सक्रिय भूमिका खेल्न निर्देशन दिए। मुस्ताङको भौगोलिक कठिनाइलाई ध्यानमा राख्दै दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्नेमा समेत उनले जोड दिए।
कार्यक्रममा सहभागी माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरूले पनि आफ्नो कार्यकालमा विकास निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका पार्टी पदाधिकारी, सदस्य तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।
प्रकाशित: २८ जेष्ठ २०८२ १९:५८ बुधबार