राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले अविलम्ब ससम्मान रिहा नगरे भोलिदेखि काठमाडौं उपत्यका बन्द गर्ने चेतावनी दिएका छन्।
आज (आइतबार) काठमाडौंमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीले अध्यक्ष थापालाई नियन्त्रणमा लिएपछि लिङ्देनले यस्तो चेतावनी दिएका हुन्।

प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ। अब हामी देशभरिबाट साथीभाइहरूलाई बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरु हुन्छ।’
उनले थपे, ‘अब हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्किन्छौं। कहाँ रोक्नुहुन्छ तपाईं ?’
लिङ्देनले आफूहरूको बाध्यतालाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिए।
राप्रपा, राप्रपा नेपाल लगायतका राजावादी दलहरूले राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग गर्दै यही जेठ १५ गतेदेखि काठमाडौंमा निरन्तर प्रदर्शन गर्दै आएका छन्। उनीहरूले यो आन्दोलनलाई निर्णायक बनाउने बताउँदै आएका छन्।
आज प्रदर्शनकारीहरूले नक्साल र बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए। निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको थियो।
प्रहरीका अनुसार, अध्यक्ष थापा प्रदर्शनकारीको नेतृत्व गर्दै बालुवाटारतर्फ अघि बढ्न खोज्दा उनलाई नियन्त्रणमा लिइएको हो। थापासहित अन्यकेहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनापछि उक्त क्षेत्रमा तनाव उत्पन्न भएको थियो।
प्रकाशित: १८ जेष्ठ २०८२ १५:४३ आइतबार





