नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कर्णालीमा विकासका लागि राज्यले लगानी बढाउनुपर्ने बताएका छन्। कालीकोटमा आयोजित जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पुगेका ज्ञवालीले कर्णालीको विकासका लागि ठूलो लगानी आवश्यक भएको बताएका हुन्।
पत्रकारसँग कुरा गर्दै उनले कर्णालीको भौगोलिक र प्राकृतिक विकटताले विकासमा चुनौती थपिएको बताए। स्थानीय स्रोतसाधनले मात्र विकास सम्भव नहुने भन्दै उनले कर्णालीमा अपेक्षित विकास नभएको उनको भनाइ थियो। लोकतन्त्रमा पछाडि परेका क्षेत्रको विकासका लागि विशेष ध्यान दिनुपर्ने र अन्य प्रदेशको तुलनामा कर्णालीलाई बढी बजेट विनियोजन गर्नुपर्ने उनको भनाइ छ।
देशमा विकासले गति लिएको बताउँदै उनले भने, ‘कर्णालीमा समृद्धिका धेरै सम्भावना छन्। तर, काम हुन नसकेको स्थलगत भ्रमणमा महसुस भयो। यहाँका नेताहरूले सक्रियतापूर्वक काम गर्नुपर्छ।’ उनले देशमा विभिन्न विकास निर्माणका कामले गति लिएको पनि बताए।
प्रकाशित: ११ जेष्ठ २०८२ ११:५० आइतबार





