परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासँग जापानका उपविदेशमन्त्री इकुइनो अकिकोले शनिबार शिष्टाचार भेटवार्ता गरेकी छन्।
सगरमाथा संवादमा सहभागिताका लागि हाल नेपालमा रहेकी उपविदेशमन्त्री अकिकोले आज सगरमाथा संवाद कार्यक्रमस्थल होटल सोल्टीमा सो साइडलाइन भेट गरेकी हुन्।
भेटका अवसरमा मन्त्री डा. राणाले उपमन्त्री अकिकोलाई सगरमाथा संवादमा सहभागी भएकोमा धन्यवाद व्यक्त गरिन्। साथै, मन्त्री डा. राणाले सिन्धुली बर्दिबास बाटोको पुनर्निर्माण तथा मर्मत सम्भारका लागि सहयोग गरेकोमा जापान सरकारलाई धन्यवाद ज्ञापन समेत गरिन्।
गत वर्ष आएको अविरल बर्षाका कारण सो बाटोमा ठूलो क्षति पुगेको छ। जापान सरकारको अनुदानमा निर्मित सो बाटोको मर्मत तथा पुननिर्माणका लागि नेपाल सरकारले अनुरोध गरेपछि जापानले सहयोग गर्ने भएको हो।
त्यसैगरी, सो भेटका क्रममा मन्त्री डा. राणा र जापानी उपविदेशमन्त्री बीच दुई देशको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो। त्यस अवसरमा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिक लागायतका क्षेत्रमा विगत लामो समयदेखि जापानले पुर्याउँदै आएको सहयोगका लागि पनि धन्यवाद ज्ञापन गरेकी थिइन्।
मन्त्री डा. राणाले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा उठाउँदै आएको जलवायु न्यायका पक्षमा ऐक्यवद्धता र सहयोगका लागि जापानसँग आग्रह पनि गरिन्।
प्रकाशित: ३ जेष्ठ २०८२ १४:१२ शनिबार