२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

‘यसपालि पर्याप्त बजेट विनियोजन हुन्छ, सबै नागरिकलाई सुरक्षित पानी वितरण गछौं’

खानेपानीमन्त्री प्रदीप यादवले देशभरिका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताएका छन्।

शनिबार वीरगन्ज महानगरपालिका–१६ मा नागवा खानेपानी ओभरहेड ट्याङ्कीको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाली जनतालाई शुद्ध र सुरक्षित खानेपानी वितरणका लागि पर्याप्त बजेट विनियोजन गरिने जानकारी दिए।

उनले भने, ‘नागरिकलाई शुद्ध सुरक्षित खानेपानी वितरण गर्नु मेरो प्रमुख लक्ष हो। खानेपानीका क्षेत्रमा पर्याप्त बजेट विनियोजन हुन्छ। सबै नागरिकलाई सुरक्षित पानी वितरण गछौँ।’

आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउने तथा सर-सफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गरिने मन्त्री यादवले सुनाए।

उनले भने, ‘आगामी वर्ष सबै तराई, मधेस, हिमाल र पहाडका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी पुर्‍याउने हेतुले सिङ्गो मन्त्रालय लागि परेको छ। खानेपानीको पहुँच वृद्धि गरी स्थानीय तह र उपभोक्ताको सहलगानीमा खानेपानी आयोजना एकीकृत रुपमा सञ्चालन गर्नेछौँ।’

नागवा खानेपानी ओभरहेड ट्याङ्की आयोजना १८ महिनाभित्र सम्पन्न गरिने लक्ष्य राखिएको र आफूले मन्त्रीको हैसियतले यथासमयमा काम सम्पन्न होस् भनेर नियमित अनुगमन गर्ने उनले आश्वासन दिए।

उनले भने, ‘मैले मेरो आफ्नै निर्वाचन क्षेत्रका जनतालाई प्रत्यक्ष रूपमा लाभ पुग्ने एउटा ऐतिहासिक आयोजनाको शिलान्यास गर्न पाउँदा गर्व महसुस गरिरहेको छु। गाँस, बास, कपडा जस्तै पानी पनि मानव जीवनको आधारभूत आवश्यकता हो र आज हामी त्यो आधारभूत हक सुरक्षित गर्न एक कदम अघि बढेका छौँ।’

यस आयोजनाबाट वडा नं १५ र १६ का करिब तीन हजार पाँच सय घरधुरी लाभान्वित हुने खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले जानकारी दिए।

उनका अनुसार हालसम्म खानेपानीको अभावमा दैनिक जीवनमा कठिनाइ भोगिरहेका यहाँका नागरिकलाई उक्त आयोजना सम्पन्न पश्चात् सहज, शुद्ध र पर्याप्त पानी आपूर्ति हुने विश्वास लिइएको छ।

प्रकाशित: २७ वैशाख २०८२ १५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App