१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

पोखरेलको आग्रह: साना दललाई होइन, बलिया शक्तिलाई मतदान गराैं

महाधिवेशनलाई सम्बोधन गर्दै एमाले महासचिव शङ्कर पोखरेल।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनताले अब साना दललाई मतदान गरेर जनमत विभाजित नगर्ने प्रतिज्ञा गर्नुपर्ने बेला भएको बताएका छन्।

नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौं राष्ट्रिय महाधिवेशनको शनिबार नेपालगन्जमा उद्घाटन गर्दै उनले भने, ‘बलिया राजनीतिक शक्तिलाई मतदान गरेर बलियो राजनीतिक शक्ति निर्माण गरी मुलुक निर्माण गर्ने अभियानमा साथ दिनुपर्दछ।’

छिमेकी मुलुक चीन र भारतमा राजनीतिक स्थिरता रहेको बताउँदै पोखरेलले भने, ‘नरेन्द्र मोदीजी दुई पटक पूरा कार्यकाल व्यतीत गरी तेस्रो पटक प्रधानमन्त्री हुनुभएको छ, हाम्रो देशमा जनमत विभाजित हुँदा समस्या भएको छ।’

राजनीतिक स्थिरता, सुशासन र विकासका लागि मुलुकका दुई ठूला दल कांग्रेस र एमाले मिलेर अहिले सरकार चलाइरहेको उनले बताए। जनताका आकाङ्क्षा पूरा गर्ने दिशामा सरकार अघि बढ्ने पोखरेलको विश्वास छ। छिटो–छिटो सत्ता समीकरण बद्लिँदा मुलुक निर्माणमा समस्या देखिएको उनले  सुनाए।

महाधिवेशनलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले मुस्लिम समुदायलाई हरेक क्षेत्रमा अगाडि बढाउन विभिन्न काम गरिरहेको बताए। सरकारले जनतामा आशा र भरोसा उत्पन्न हुने गरी काम गरिरहेको जिकिर गरे।

नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष सेराज अहमद फारुकीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा पूर्वमन्त्रीद्धय पदमा अर्याल र भानुभक्त ढकाल, प्रतिनिधि सभाका सांसद सूर्य ढकाल, दिपा शर्मा, एमाले केन्द्रीय सदस्य एवम् मुस्लिम विभाग इन्चार्ज मोहम्मद हारुन् हलवाई लगायत नेताले बोलेका थिए।

महाधिवेशनमा ६ सय बढी मुस्लिम प्रतिनिधि र पर्यवेक्षक सहभागी भएको आयोजकले जनाएको छ।

प्रकाशित: २० वैशाख २०८२ २०:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App