राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको योगदानलाई कसैले कम आँक्न नसक्ने बताएका छन्।
नेपाल रिपब्लिक मिडियाको १७औँ स्थापना दिवसका अवसरमा शनिबार (आज) काठमाडौंमा आयोजित ‘नागरिक नायक–२०८२’ घोषणा तथा सम्मान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
'नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको योगदानलाई कसैले कम आँक्न सक्दैन। लोकतन्त्रका निम्ति नेपाली पत्रकारहरूले आफ्नो जीवन र जीविकाको समेत पर्वाह नगरी काम गरेका छन्। उनीहरूले अहिले पनि खबरदारी गरि नै रहेका छन्। यसैकारण संविधानमै पत्रकारिता क्षेत्रका अधिकारलाई सुनिश्चित गरिएको छ,' उनले भने।
राष्ट्रपति पौडेलले नागरिक पत्रकारिता सबल बन्दै गएको बताए। त्यसमा रिपब्लिक मिडियाले महत्त्वपूर्ण भूमिका खेलेको बताए। 'इन्टरनेट र सूचना प्रविधिको विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा उल्लेखनीय परिवर्तन आएको छ। प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम भित्रिएका छन्। यसमा नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको छ,' उनले भने।
पूर्णपाठ-
कार्यक्रमका अध्यक्ष
माननीय मन्त्रीहरू
विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरू
नेपाल रिपब्लिक मिडिया परिवार,
उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरू !
नेपाल रिपब्लिक मिडियाले आयोजना गरेको १६ औं नागरिक सम्मान कार्यक्रममा सरिक हुन पाउँदा मलाई हर्ष लागेको छ । पत्रकारिता क्षेत्रको काम भनेको केही भएन मात्र भन्ने होइन, केही भइरहेको छ भन्ने देखाइदिने पनि हो । यसरी काम गर्न सकिन्छ भनेर उदाहरण दिने पनि हो । यो कार्यक्रम त्यसैतर्फ केन्द्रित रहेकोमा मलाई खुसी लागेको छ ।
मुलुकले दुई दिनअघि वैशाख ११ गते लोकतन्त्र दिवस मनाएको छ । त्यसलगत्तै म यहाँ तपाईंहरू समक्ष यो कार्यक्रममा सरिक हुन पाएको छु । लोकतन्त्र र पत्रकारिताका बारेमा म केही भन्न चाहन्छु ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको योगदानलाई कसैले कम आँक्न सक्दैन । लोकतन्त्रका निम्ति नेपाली पत्रकारहरूले आफ्नो जीवन र जीविकाको समेत पर्वाह नगरी काम गरेका छन् । उनीहरूले अहिले पनि खबरदारी गरि नै रहेका छन् । यसैकारण संविधानमै पत्रकारिता क्षेत्रका अधिकारलाई सुनिश्चित गरिएकोछ ।
जसरी लोकतन्त्र विना स्वतन्त्र, निश्पक्ष र तटस्थ पत्रकारिता सम्भव छैन त्यसरी नै स्वतन्त्र प्रेस विना लोकतन्त्रको परिकल्पना पनि गर्न सकिँदैन । जुन मुलुकमा प्रेसले स्वतन्त्रपूर्वक काम गर्न पाउँदैन त्यहाँ दुर्घटना अवश्यम्भावी छ । यसकारण पनि प्रेसलाई स्वतन्त्रपूर्वक लेख्न निरन्तर प्रेरित गरिरहनु पर्छ ।
जननेता बिपी कोइरालाले आफू प्रधानमन्त्री भएका बेला त्यसबेलाका पत्रकारहरूलाई बोलाएर पत्रिका निकाल्न र सरकारको निरन्तर खबरदारी गर्न गरेको आग्रह अहिले पनि हामीले बिर्सेका छैनौं । लोकतन्त्रसँंग स्वतन्त्र प्रेसको यही अन्योन्याश्रित सम्बन्धका कारण उहाँले यस्तो आग्रह गर्नुभएको थियो भन्ने म ठान्दछु ।
वर्तमान समयमा लोकप्रियतावाद हावी भएको छ । प्रशंसा मात्र खोज्ने प्रवृत्ति बढ्यो भने सत्य थाहा हुँदैन । त्यसैले सजग प्रेसले सदैव सही सूचना प्रवाह गर्छ र त्यसले लोकतन्त्रका नागरिकको आलोचनात्मक चेतलाई विस्तारित गर्न सक्छ ।
इण्टरनेट र सूचनाप्रविधिको विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा उल्लेखनीय परिवर्तन आएको छ । प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम भित्रिएका छन् । यसमा नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको छ । यस्तो अवस्थामा सहजै उपलब्ध प्रविधिको दुरुपयोग गरेर भ्रम, मिथ्या एवम् संशयपूर्ण सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व हो ।
अब म आउन चाहन्छु आजका नागरिक नायकतर्फ । नेपालका विभिन्न ठाउँमा रहेर उहाँहरूले गरिरहेको कामले निश्चय नै नेपालीलाई बाटो देखाउँने छ । समाजमा रहेका उहाँहरूजस्ता व्यक्तिले नै यसलाई गाउँ मै बसौंबसौं लाग्ने बनाउने हो । म उहाँहरूलाई बधाइ भन्न चाहन्छु । भविश्यमा म उहाँहरूले गरेका अरु राम्रा कामबारे जानकार हुन चाहन्छु । समाजमा रहेका यस्ता व्यक्तिहरूको सम्मानबाट मानिसलाई असल काम गर्न प्रेरित गर्ने मैले विश्वास लिएको छु ।
यस्तो प्रेरक कार्यक्रम गरेकोमा नेपाल रिपब्लिक मिडिया परिवारलाई समेत हार्दिक धन्यवाद दिन चाहन्छु ।
जय नेपाल !
२०८२ वैशाख १३ गते शनिबार
प्रकाशित: १३ वैशाख २०८२ १७:१९ शनिबार





