उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले काठमाडौंका नदी सफा गर्न ठोस कार्यक्रम ल्याउने बताएका छन्।
काठमाडौंको वडा नं १० बुद्धनगरवासीद्वारा सञ्चालन गरिएको ‘सके सफा गरौँ नसके फोहर त नगरौँ’ भन्ने नारासहितको बुद्धनगर सरसफाइ अभियानको १० वर्ष पूरा भएको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उनले नदी सफा गर्नका लागि नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्नुपर्ने बताए।
उपप्रधानमन्त्री सिंहले नदी सफा गर्नका लागि काठमाडौं उपत्यका विकास प्राधिकरण, बागमती सभ्यता एकीकृत विकास समितिलगायतसँग छलफल गर्ने र लगानीको लक्ष्य र उद्देश्यअनुरुप प्रतिफल प्राप्त नभएको पक्षलाई विश्लेषण गर्न जरुरी रहेकामा जोड दिए।
उपप्रधानमन्त्री सिंहले बुद्धनगरवासीले सानो भए पनि सकारात्मक कामलाई निरन्तरता दिएर रचनात्मक कामलाई जारी राखेको भनी अभियन्ता र सहभागीप्रति आभार प्रकट गर्दै बधाई दिए। उनले उक्त अभियानमा आबद्ध हुन सबैलाई आह्वान समेत गरे।
उक्त अभियानबाट टोलवासीको मनमा सकारात्मक दियो बाल्ने प्रयास गरिएको र त्यो सफल भएको उल्लेख गर्दै मन्त्री सिंहले सरसफाइ अभियान २०७२ को भूकम्प अगाडि नै सुरु भई ५२२ हप्ता पूरा गरेको जानकारी दिए।
प्रकाशित: ६ वैशाख २०८२ १३:०७ शनिबार





