नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गृहमन्त्री रमेश लेखकलाई प्रहरी प्रशासनले तपाईंको आदेश नमानेको हो? भन्दै प्रश्न गरेका छन्।
शनिबार (आज) नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगरमा शुक्रबार आन्दोलनकारीले तोडफोड र आगजनीबाट भएको क्षतिको अनुगमन गर्न पुगेका गृहमन्त्री लेखकसँग उनले यस्तो प्रश्न उठाएका हुन्।
शुक्रबार राजावादीले तीनकुनेमा गरेको प्रदर्शनका क्रममा निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो। पार्टी कार्यालयमा आगजनी भएको बारे प्रहरी प्रशासनलाई समयमै जानकारी दिइए पनि प्रहरीले हेलचेक्र्याइँ गरेको पार्टीका नेताहरूको आरोप छ।
गृहमन्त्री लेखकलाई अनुगमनका क्रममा पार्टी कार्यालयमा पुग्दा अध्यक्ष नेपालले भने, ‘आधा घण्टा वा १५ मिनेटअघि आन्दोलनकारी आएको भए यहाँ केही बाँकी रहने थिएन। तपाईंको आदेश प्रहरी प्रशासनले नमानेको हो कि हामीलाई त्यस्तो शंका लागिरहेको छ।’
राजावादीले शुक्रवार तीनकुनेमा निजी सम्पत्तिमा आगजनी गर्नुका साथै बाटोमा गुडिरहेका सवारी साधन, भाटभटेनी, पार्टी कार्यालय र जडिबुटी प्रशोधन केन्द्रलगायतका सम्पत्तिमा पनि आगजनी र तोडफोड गरेका थिए।
प्रकाशित: १६ चैत्र २०८१ १४:०१ शनिबार