१८ चैत्र २०८१ सोमबार
image/svg+xml २०:५४ अपराह्न
राजनीति

कांग्रेस कास्की सभापतिलाई कारबाही गर्न नेविसंघ सदस्यहरूले दिए उजुरी

<br>

नेपाल विद्यार्थी संघ (नेविसंघ) का कास्कीबाट प्रतिनिधित्व गर्ने ११ जना केन्द्रीय सदस्यले नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालविरुद्ध कारबाहीको माग गर्दै पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका छन्।

नेविसंघका केन्द्रीय सदस्य राजेन्द्र बराल, नसिब गुरुङ, अञ्जान थापा, संस्कार कोईराला, विक्रम आदित्य सिंह गिरी, महादेव गिरी, राजिव बास्तोला, कविराज पहारी, यामकृष्ण पौडेल, सुजी मगर र गंगा गिरीले बिहीबार पोखरामा संयुक्त पत्रकार सम्मेलन गर्दै उजुरी दिएको जानकारी गराएका हुन्।

उनीहरूले सभापति बराललाई ‘नालायक’ भन्दै सात दिनभित्र पदबाट बर्खास्त गरी साधारण सदस्यबाट समेत निष्कासन गर्न माग गरेका छन्। यदि कारबाही नगरे आफूहरू आन्दोलनमा जाने चेतावनी दिएका छन्।

नेविसंघ केन्द्रीय सदस्यहरूले सभापति बरालले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा आफ्नै विद्यार्थी संगठनका उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लगाएका छन्।

उनीहरूले नेविसंघका उम्मेदवारको मनोनयन पत्र च्यात्न लगाएर उम्मेदवार दिनबाट बञ्चित गराएको, स्ववियु चुनावका लागि संकलन गरिएको रकम हिनामिना गरेको, आर्थिक घोटाला गरेको र प्रतिपक्षी दलहरूसँग मिलेर संगठनलाई कमजोर बनाउने काम गरेको गम्भीर आरोप लगाएका छन्।

इञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसको स्ववियु चुनावमा नेविसंघका उम्मेदवार पराजित हुनुमा सभापति बराल मुख्य जिम्मेवार रहेको केन्द्रीय सदस्य राजेन्द्र बरालले दाबी गरे।

उनका अनुसार, नेविसंघले सचिव पदमा प्रशान्त उपाध्यायलाई उम्मेदवार बनाएको थियो। तर, सभापति बरालको निर्देशनमा केन्द्रीय सदस्य रेजिना खड्कालाई मनोनयन पत्र च्यात्न लगाइएको आरोप लगाइएको छ।

केन्द्रीय सदस्य नसिब गुरुङले सभापति बरालले एमाले र माओवादीसँग मिलेर नेविसंघको अस्तित्व संकटमा पार्न खोजेको आरोप लगाए। उनले भने, ‘‘उहाँले स्ववियु चुनावका लागि भनेर आर्थिक संकलन अभियान चलाउनुभयो तर उठेको रकम नेविसंघलाई नदिई आफैंले राख्नुभयो।’’

अर्का केन्द्रीय सदस्य अञ्जान थापाले आर्थिक संकलन गरिएको रकम नेविसंघकै उम्मेदवारहरू पराजित गर्न प्रयोग गरिएको दाबी गरे। ‘‘हामीले पनि आर्थिक सहयोग गरेका थियौं। तर, त्यो रकम कहाँ गयो, हामीलाई अहिलेसम्म थाहा दिइएको छैन। हाम्रो पैसा हाम्रै उम्मेदवार हराउन प्रयोग गरियो,’’ उनले भने।

नेविसंघका नेताहरूले पार्टी नेतृत्वलाई सात दिनभित्र सभापति बरालविरुद्ध कारबाही गर्न आग्रह गरेका छन्। अन्यथा, आफूहरू चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्।

प्रकाशित: १४ चैत्र २०८१ २०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App