उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मीबीच शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा शुभकामना आदानप्रदानपछि दुई देशबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, सहकार्य, व्यापार र लगानीका विषयमा छलफल भएको छ।
उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सम्बन्ध घनिष्ठ र समधुर रहेको उल्लेख गर्दै यसलाई आगामी दिनमा अझ सुदृढ बनाउनुपर्ने बताए। ‘दुई मुलुकबीच अर्थमन्त्री स्तरमा संयुक्त आर्थिक आयोग र परराष्ट्र सचिव स्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रमार्फत सम्पर्क र वार्तालाई निरन्तरता दिन आवश्यक छ,’ उनले भने, ‘उच्चस्तरीय भ्रमणको आदानप्रदानले सम्बन्धका सबै पक्षमा गतिशीलता र गुणस्तर बढाएको छ।’
उनले व्यापार र आर्थिक क्षेत्रमा सहयोग विस्तारमा जोड दिँदै लगानी, पर्यटन, संस्कृति, जनस्तरको सम्बन्ध र पारस्परिक सहयोगका क्षेत्रमा दुवै देशले मिलेर काम गर्नुपर्ने बताए। ‘नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र लाभदायक स्थान हो,’ उनले भने, ‘विदेशी लगानीकर्तालाई सहजीकरण गर्न उद्योग विभागमा एकल विन्दु सेवा केन्द्र स्थापना गरिएको छ।’ जलविद्युत, पर्यटन, पूर्वाधारमा लगानी गर्न पाकिस्तानी लगानीकर्तालाई नेपाल स्वागत गर्न चाहेको उनले बताए।
‘नेपालको प्राकृतिक, पुरातात्विक र सांस्कृतिक सम्पदाले पाकिस्तानी जनतालाई नेपाल भ्रमण गर्न आकर्षित गर्ने विश्वास छ,’ उनले भने, ‘नेपाली विद्यार्थीलाई चिकित्सा, दन्त चिकित्सा, फार्मेसी र इन्जिनियरिङ अध्ययनका लागि वार्षिक छात्रवृत्ति उपलब्ध गराएकोमा पाकिस्तान सरकारलाई धन्यवाद छ।’
उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानको धेरै विषयमा समान दृष्टिकोण रहेको र बहुपक्षीय मञ्चमा चासो मिल्ने बताए। ‘दुवै देशले संयुक्त राष्ट्रसंघ, असंलग्न आन्दोलन र सार्कजस्ता मञ्चमा सहकार्य गर्दै आएका छन्,’ उनले भने, ‘दक्षिण एसियाका जनताको शान्ति, समृद्धि र हितका लागि सार्क अगाडि बढ्नुपर्छ। सार्कको वर्तमान अध्यक्षको हैसियतमा नेपाल रोकिएको सार्क प्रक्रियालाई पुनः सुचारु गर्न प्रयासरत छ। यसमा सबै सदस्य राष्ट्रको सहयोग आवश्यक छ। हामी सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न चाहन्छौँ।’
उनले दक्षिण एसियाको हिन्दु–कुश हिमालय क्षेत्रले विश्वव्यापी उष्णता र जलवायु परिवर्तनको प्रभाव सामना गरिरहेको बताए। ‘जलउत्पन्न प्रकोप, बाढी, डुबान र खडेरी दीर्घकालीन समस्या बनेका छन्। जलवायु परिवर्तनको प्रभावसँग लड्न हामीले मिलेर काम गर्नुपर्छ,’ उनले भने। उनले पाकिस्तानका राष्ट्रपति असिफ अली जरदारीलाई शुभकामना पनि पठाए।
पाकिस्तानी राजदूत हाश्मीले नेपाल र पाकिस्तानबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका समस्याको समाधान परस्पर सहकार्यबाट गर्नुपर्ने बताए। जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर नेपालले गर्न लागेको ‘सगरमाथा संवाद’ का लागि नेपाल सरकारलाई बधाई दिँदै यसमा पाकिस्तानको साथ र सहयोग रहने उनले बताए।
प्रकाशित: ८ चैत्र २०८१ १६:३३ शुक्रबार





