युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी वर्ष पनि खेलकुद क्षेत्रको बजेटमा कुनै ठूलो वृद्धि नहुने संकेत गरेका छन्। पुरानै लगानीको निरन्तरतासँगै बजेट मुख्य रूपमा प्रशासनिक खर्चमै सीमित रहने उनको भनाइ छ।
नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय, सानेपामा खेलकुद विभागद्वारा आयोजित कार्यक्रममा मन्त्री चौधरीले खेल क्षेत्रका लागि आवश्यक पर्ने पर्याप्त बजेट प्राप्त गर्न नसकिएको बताए। उनका अनुसार यसपटक पनि कुल बजेट साढे तीन अर्बभन्दा धेरै हुने छैन। जसको ठूलो हिस्सा प्रशासनिक खर्चमै जानेछ।
मन्त्री चौधरीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान वैशाख २४ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए।
खेलकुद पूर्वाधार निर्माणका लागि वैकल्पिक आर्थिक स्रोतको आवश्यकता औंल्याउँदै उनले मादक पदार्थ र सुर्तिजन्य वस्तुहरूमा केही प्रतिशत कर लगाउनुपर्ने प्रस्ताव गरे। उनका अनुसार अघिल्लो व्यवस्थालाई पुनः लागू गर्न सकिए खेलकुद क्षेत्रलाई ठूलो टेवा पुग्नेछ।
निजी क्षेत्रको सामाजिक उत्तरदायित्व अन्तर्गत खेलकुद क्षेत्रलाई समावेश गर्नुपर्ने मन्त्री चौधरीको धारणा छ। उनले खेलाडी र उनीहरूका सन्तानलाई निजी विद्यालयका छाता संस्थाहरूले सहयोग गर्न तत्पर रहेको दाबी गरे। साथै, सातै प्रदेशमा खेलकुदमै प्रतिबद्ध विद्यालयहरूलाई ‘खेल विद्यालय’ घोषणा गर्ने योजना रहेको पनि उनले सुनाए।
मन्त्री चौधरीका अनुसार विद्यालय तहदेखि नै खेलकुदलाई समावेश गर्न सकिए नेपालमा खेल क्षेत्रको विकास सम्भव हुनेछ।
प्रकाशित: ७ चैत्र २०८१ २०:१३ बिहीबार





