२० चैत्र २०८१ बुधबार
image/svg+xml ०:४२ पूर्वाह्न
राजनीति

चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र र शारदानगरमा नेविसंघ विजयी

चितवनका १७ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गरिए पनि अन्ततः दुई क्याम्पसमा मात्र मतदान सम्पन्न भएको छ।

मंगलबार शारदानगर बहुमुखी क्याम्पस र चितवन इन्जिनियरिङ क्याम्पसमा निर्वाचन सम्पन्न भए पनि अन्य क्याम्पसहरूमा विद्यार्थी सङ्गठनहरूबिच सहमति नजुट्दा प्रक्रिया अवरुद्ध भयो।

चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार अध्यक्षमा विजयी भएका छन्।

नेविसंघ र माओवादनिकटको अखिल क्रान्तिकारीको समर्थनसहित स्वतन्त्र उम्मेदवारी दिएका प्रज्ज्वल अधिकारी क्याम्पसको स्ववियु अध्यक्षमा निर्वाचित भएका हुन्।

यसैगरि, सचिवमा सुमन थापा क्षेत्री र कोषाध्यक्षमा राजेश्वर दाहाल निर्वाचित भएका छन्। त्यस्तै, सदस्यमा सुशान्त घिमिरे, प्रतिज्ञा न्यौपाने र विष्णु भट्टराई विजयी भएका छन्।

समानुपातिक तर्फ सदस्यमा अखिल (क्रान्तिकारी) र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले समान दुई/दुई तथा नेविसंघले एक सिट जितेका छन्।

शारदानगर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल विजयी भएको छ।

स्ववियु सभापतिमा अनीश थापा, सचिवमा रोशनी काफ्ले र कोषाध्यक्षमा अनीश विक निर्वाचित भएका छन्। त्यस्तै, सदस्यमा प्रत्यक्ष तर्फ बिपना गुरुङ, बिपना सुवेदी, विना गुरुङ, कमला थापा र सुवास अधिकारी विजयी भएका छन्।

चितवनका तीन आङ्गिक र १४ पब्लिक क्याम्पसमा स्ववियु निर्वाचन हुनुपर्ने भए पनि विद्यार्थी सङ्गठनहरूबिच असहमति उत्पन्न भएपछि प्रक्रिया अवरुद्ध भएको थियो।

अनेरास्ववियु (नेकपा एकीकृत समाजवादी निकट), समाजवादी विद्यार्थी युनियन (जसपा निकट), अखिल समाजवादी (विप्लव निकट), अखिल क्रान्तिकारी (नेकपा बहुमत निकट) र लोकतान्त्रिक विद्यार्थी संघ (लोसपा निकट) ले निर्वाचन प्रक्रियामा असहमति जनाउँदै तालाबन्दी गरेका थिए।

चितवनका प्रमुख क्याम्पसहरू– वीरेन्द्र बहुमुखी क्याम्पस, सप्तगण्डकी बहुमुखी क्याम्पस, बालकुमारी बहुमुखी क्याम्पस र मैयादेवी कन्या कलेजमा सन् २००८ (२०६५ साल) यता स्ववियु निर्वाचन हुन सकेको छैन। विद्यार्थी सङ्गठनहरूले हार्ने डरले हरेक निर्वाचनमा अवरोध सिर्जना गर्ने गरेको आरोप लाग्दै आएको छ।

वीरेन्द्र बहुमुखी क्याम्पसका निर्वाचन समितिका संयोजक दयाराम पौडेलका अनुसार ‘सोमबार साँझसम्म विद्यार्थी सङ्गठनहरूबिच सहमति हुन नसकेपछि निर्वाचन अघि बढाउन नसकिएको’ हो।

प्रकाशित: ५ चैत्र २०८१ १८:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App