राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सम्झौताअनुसारको पारिश्रमिक र सुविधा दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै अर्यालले वैदेशिक रोजगारीमा गएका श्रमिकहरू ठगिने, समस्यामा पर्ने र दूतावासमा गुनासो राख्दा बेवास्ता हुने गरेको बताए। उनले युएई र मलेसियाका सेक्युरिटी कम्पनीमा कार्यरत श्रमिकहरूले सम्झौताअनुसारको पारिश्रमिक, विदा र औषधि उपचार नपाएको गुनासो गरेको उल्लेख गरेका छन्।
उनले भने, ‘विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्सले मुलुक टिकेको छ। तर, उनीहरूको पीडा हामीले बुझ्न सकेका छैनौं। दैनिकजसो मेरो सचिवालयमा ठगिएको, समस्यामा परेको र दूतावासले बेवास्ता गरेको गुनासो आउँछ।’
उनले थपे, ‘हालै युएई र मलेसियाका सेक्युरिटी कम्पनीमा कार्यरत श्रमिकहरूले सम्झौताअनुसार पारिश्रमिक, विदा र औषधि उपचार नपाएको बताएका छन्। म्यानपावर कम्पनीहरूले मोटो रकम असुलेर भनेजस्तो काम नदिने र गुनासो गरेपछि श्रमिकलाई धम्क्याउने गरेको उनीहरूको भनाइ छ। त्यसैले श्रमिकहरूको अवस्था बुझेर सम्झौताअनुसारको सुविधा दिलाउन र उनीहरूलाई दुःख दिने म्यानपावर कम्पनीहरूलाई कानूनी दायरामा ल्याउन श्रम मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु।’
म्यानपावर कम्पनीहरूले श्रमिकहरूलाई भनेअनुसारको सेवा नदिने र गुनासो गरेमा धम्क्याउने गरेको पनि उनले बताए। यस्तै, उनले वर्षातको समय नजिकिँदै गरेकोले बाढीको जोखिम रहेका नदीहरूमा तटबन्धको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्।
प्रकाशित: ४ चैत्र २०८१ १२:५९ सोमबार





