१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

पाहुना सहकारीमात्र संकटमा परे: सूर्य थापा

डेढ वर्षभन्दा बढी भयो सहकारी पीडित न्यायको लागि सडकमा उत्रिएको। पीडित अझै कुनै न कुनै माध्यमले आन्दोलनमा नै छन्। पीडितको लागि न्यायको ढोका सरकारले खोलेको छ। तर, रकम फिर्ता पाएर न्यायअनूभूति कहिले गर्न सक्छन् अन्यौलमा नै छन्।

सहकारी विभागको तथ्यांक अनुसार देशभर ३१ हजारभन्दा बढी सहकारी छन्। यसमा चार खर्ब ७८ अर्ब रुपैँया बचत भएको छ। केही सहकारी संस्थामा रकम अपलचन भएपछि बचतकर्ता मारमा परेका हुन्। जसको समाधान सरकारले हालसम्म निकाल्न सकेको छैन।

यद्यपी यो समस्याले सदनमा स्थान पायो। संसदीय विशेष समितिले छानबिन गरेर प्रतिवेदन नै बुझायो। गत जेठ १५ मा एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठनमा प्रतिनिधि सभाले छानबिन विशेष समिति गठन गर्‍यो।

सात सदस्यीय छानबिन समितिले तीन महीना छानबिनमा लगाएर संसद्लाई प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनको आधारमा हाइप्रोफाइल नेता समातिए।

पूर्व गृहमन्त्री लामिछाने, पूर्व डीआईजी छविलाल जोशी लगायत हिरासतमा पुगेपछि बचतकर्तालाई आशा जागेको थियो रकम फिर्ता आउँछ। छानबिन समितिको अनुसार ४० वटा सहकारीमा ८७ अर्ब ८९ करोड रुपैयाँ हिनामिना भएको छ। यो अपचलन रकम कहिले फिर्ता आउँछ त ? यसै वरपर रहेर पोखरामा जारी १२ औँ एनसिएल फाउण्डेसन नेपाल लिटरेचर फेस्टिभलको चौथो दिन ‘सहकारीको सास्ती’ सत्रमा छलफल भयो।

नेपाल कम्यूनिष्ट पार्टी एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले सत्रमा वक्ताको रुपमा बोल्दै सहकारी समस्या समाधान गर्न सकेनौँ भने देशको अर्थतन्त्रलाई समेत सास्ती हुने बताए। 

‘हामीले सहकारी बचतकर्ताको समस्यालाई आजको अवस्थाबाट समाधान गर्न सक्यौँ भने हामीले सास्ती खेप्यौँ भन्नुपर्ने त्यो स्थिती रहन्न। तर, समस्या समाधान गर्न सकेनौँ भने यो हामीलाई पनि सास्ती हो त्यसलाई पनि सास्ती हो। राष्ट्रिय अर्थतन्त्रलाई पनि सास्ती हो। बचतकर्तालाई सास्ती छँदै छ,’ थापले भने।

सहजकर्ता कृष्ण आचार्यको प्रश्नको जवाफ दिँदै थापाले सबै बचतको दूरुपयोग गर्ने सहकारीमात्र संकटमा परेको सुनाए।

‘जति सहकारी समस्यामा परेका छन् तीनको भोल्युमका हिसाबले भन्नुहुन्छ भने पौने तीन खर्ब हाराहारीको बचत चाहिँ संकटमा पर्यो म भन्दिनँ अपचलन भो म भन्दिनँ। संकटउन्मुख छ पौने तीन खर्बको। बचत दूरुपयोग गरेको संकटमा परेको हो,’ थापाले भने।

उनले सम्पूर्ण सहकारी क्षेत्र नै संकटमा नपरेको विषय दोहोराए। ‘हामीले वित्तिय विश्लेषण प्रस्तुत गरेका छौँ र केही सहकारीहरु पाहुना सहकारीहरु भन्छु मैले तीनलाई ती सहकारीको मूल्य मान्यता प्रिन्सिपल र भ्यालु अन्तर्गत सञ्चालित थिएनन्। नियमनकारी निकायले ध्यान पनि दिएनन्। एउटै मान्छे पाँच वटा सहकारीमा विभिन्न पदमा थिए। सिंगो सहकारी क्षेत्र संकटमा होइन। जून अभ्यास हामीकोमा भएको हो त्यो संकटमा परेको हो,’ थापाले भने।

थापाको कुरामा आफनो विचार राख्दै नेपाल बचत तथा क्रण केन्द्रिय सहकारी संघको सञ्चालक कमला गिरीले नियमवाली र कार्यान्वयन नुहँदापनि समस्या आएको बताइन्।

उनले नियमन बिना चलेका सहकारीका कारण नियमपूर्वक काम गरिरहेकालाई समस्या परेको सुनाइन्।  ‘छिमेकी घरमा आगो लाग्दा मेरो घरमापनि झिल्का आउँछ नि नियतवस गर्नेको असर अन्यलाई परेको। यहाँ हामीसँग गुणत्मक भन्दा संख्यात्मक धेरै छन्। केही सहकारी परेका छन् कोही जेलभित्र पनि परेका छन् तीनीहरुको असर राम्रो गरेकालाई छ,’ गिरीले थपिन्।

सहकारी टिमवर्क रहेको बताउँदै समूहमा गल्ती नगरेका व्यक्तिपनि समस्यामा परेको उनको भनाइ थियो। यस्तै, पीडकलाई जेलमा मात्र राख्नुपनि समाधानको उपाय नभएको उनले विचार राखिन्।  

‘केही नियतवश साँच्चिकै अरुको पैसा ठगेर आफू रातारात ठुलो मान्छे बन्ने तीनिहरुको एउटा सहकारी भनेको टिम वर्क हो त्यसमा चाहिँ गल्ती नगरेको मान्छेपनि त्यहाँ भित्र परेर उसले म समाधान गर्छु म सक्छु भनेर जायजेथा तिर्न सक्छ भनेछ अदालतको सधैँ उनीहरुलाई भित्र राखेर समाधान हुँदैन,’ गिरीले भनिन्।

पछिल्ला वर्षदेखि सहकारी पीडित आन्दालोनरत छन्। जसलाई थामथुम पार्न सहकारी पीडितसँग सरकारले सहमति गर्छ। तर, न्यायअनूभूति हुने गरि काम गर्न सकेको छैन। यही अन्यौलकै बिचमा बचत तथा क्रणको मुख्य कारोबार गर्ने सहकारी संस्था नियमनका लागि स्थापना गर्ने भनिएको राष्टिय सहकारी नियमन प्राधिकरणले काम गर्न थालेको छ।

त्यसपछि, बचतकर्ता रकम पाउने आशा थालेका थिए। सहकारी समस्या समाधान गर्न सरकारले पुष १४ गते अध्यादेश ल्याएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका थिए।

सहकारी ठगी प्रकरणमा हाइप्रोफाइल नेतादेखि पूर्व गृहमन्त्री जोडिएका छन्। पूर्व गृहमन्त्री लामिछानेसँग जोडिएका सहकारी प्रकरणको विषय पोखरा सहित बुटवल, काठमाडौं, चितवन र पर्सामा छ।

प्रकाशित: १८ फाल्गुन २०८१ १८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App