२० चैत्र २०८१ बुधबार
image/svg+xml २:४६ पूर्वाह्न
राजनीति

कांग्रेसमा महाधिवेशन लक्षित दौडधुप: मध्यपश्चिममा शेखर र गगनको शक्ति प्रदर्शन

गत साता सुर्खेत पुगेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको स्वागतार्थ उर्लिएको भिड सामान्य थिएन।

पार्टी उपसभापति तथा आउँदो १५औँ महाधिवेशनमा सभापति पदका दाबेदारका रुपमा हेरिएका पूर्णबहादुर खड्काको गृह नगरमै कोइरालाको स्वागतका लागि उत्रिएको भिडलाई राजनीतिक अर्थबाट हेरिएको छ। यति मात्र होइन, शनिबार साँझ नेपालगन्ज विमानस्थलमा देखिएको भिडले उनलाई उत्साह मात्र थपेन एउटा ऊर्जा दिएको छ।

आइतबार बिहान नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट तथा सम्बोधन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यो उपस्थितिले मलाई उत्साहसँगै ऊर्जा पैदा भएको छ।’

उनी सुर्खेतबाट फर्किएको हप्ता दिन नहुँदै सल्यान, रोल्पा र प्युठानमा हुने कार्यक्रममा सहभागी हुनलाई महामन्त्री गगन थापा सुर्खेत विमानस्थलमै ओर्लिए। उनले पनि शेखरलाई चुनौती दिने गरी कार्यकर्ता उतारे।

महामन्त्री थापा पनि आउँदो १५औँ महाधिवेशनमा सभापतिको दाबी गरिरहेका छन्। यसकै तयारी स्वरूप उनले राजनीतिक सक्रियता बढाएका छन्। १४औँ महाधिवेशनमा एउटै समूहबाट निर्वाचन लडेका उनीहरूबिच १५औँ महाधिवेशनमा सम्भवतः फरक फरक समूहबाट चुनावी प्रतिस्पर्धामा उत्रिने निश्चित छ। उनी दुवै जना सभापतिको उम्मेदवारीबाट पछाडि हट्ने अवस्था देखिँदैन।

दुवै जनाले मध्यपश्चिममा सक्रियता देखाउँदा सभापतिका दाबेदार मानिने उपसभापति खड्का भने पूर्वतिर पार्टी प्रशिक्षण कार्यक्रममा व्यस्त छन्। नेता कोइराला र महामन्त्री थापाको दौडाहलाई उपप्रधान तथा सहरी विकासमन्त्रीसमेत रहेका प्रकाशमान सिंहले व्यङ्ग्य गरेका छन्।

दुई नेतालाई लक्षित गर्दै नेपालगन्जमा सोमबार कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘कराउँदैमा र दौडदैमा केही हुँदैन। संगठन बलियो बनाउनु पर्छ।’

शेखर र गगनकै समूहमा भए पनि १४औँ महाधिवेशनमा भने सिंह सभापतिमा भिडेका थिए। पहिलो निर्वाचनबाट कांग्रेसको नेतृत्व चयन नहुँदा दोस्रो चरणमा भएको चुनावमा भने नेता सिंहले सभापति शेरबहादुर देउवालाई सहयोग गरेका थिए।

कांग्रेस नेता कोइरालाको सुर्खेत (कर्णाली) भ्रमण र त्यहाँ उनलाई गरिएको स्वागतले पार्टीको आसन्न महाधिवेशनमा उनका प्रमुख प्रतिस्पर्धी सोही जिल्ला (सुर्खेत) का उपसभापति पूर्णबहादुर खड्का रहेको स्पष्ट सन्देश दिएको पत्रकार कलेन्द्र सेजुवालको भनाइ छ।

उनले भनेका छन्, ‘पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका कोइरालालाई उनी पक्षधरको सक्रियतामा व्यवस्थित तयारीका साथ गरिएको स्वागतले खड्काको गृहप्रदेश (कर्णाली) मा कोइराला कमजोर छैनन् भन्ने सन्देश दिन खोजिएको छ। अर्थात्, डा. कोइरालाले खड्कालाई उनको गृह जिल्ला सुर्खेतबाटै १५औँ महाधिवेशनको चुनावी फायर खोलेका छन्।’

खड्का पक्षधरको वर्चस्व रहेको सुर्खेत जिल्ला कार्यसमिति र कर्णाली प्रदेश कार्यसमिति तथा सुर्खेतमा रहेका उनी निकट नेताहरूद्वारा डा. शेखरलाई गरिएको सौहार्दपूर्ण स्वागतमा उपसभापति खड्काको राजनीतिक संस्कार र ‘स्कूलिङ’ प्रतिबिम्बित भएको उनको भनाइ छ।

मध्यपश्चिममा दुवै जना नेता कमजोर नहरेको स्पष्ट सन्देश दिएको बाँकेका एकजना नेताले बताए। उनले भने, ‘दुवै जना मिले दुईबिचको एकता कायम रहन्छ र थप शक्ति आर्जन हुन्छ। यदि दुवै जना एकआपसमा भिडे सफलता प्राप्त गर्न कठिन हुने देखिन्छ।’

यतिबेला पार्टीले गुट, फुटभन्दा एक ढिक्का बनाएर लिने नेतृत्व चाहिएको भन्दै उनी भन्छन्, ‘महाधिवेशनको मिति घोषणा नहुँदै यसरी छिन्नभिन्न भएर राजनीतिक गतिविधि गर्नु गुटको राजनीतिलाई प्रशय दिनु हो।’

१४औँ महाधिवेशनको परम्परागत गुट १५औँ सम्म पुग्दा फेरबदल हुने देखिन्छ। पार्टी नेतृत्वका आकाङ्क्षी सभापति देउवाको साथ–समर्थन लिने कसरतमा देखिएका छन्। अहिले नै मुख नखोले पनि सभापति देउवाको साथ पाउँदा सभापतिमा दाबी गर्ने उनीहरूको तयारी छ।

कांग्रेस विधानमा दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाउने प्रावधानले सभापति देउवा आगामी महाधिवेशनमा चुनावी प्रतिस्पर्धामा हुने छैनन्। उनी व्यक्तिगतरुपमा चुनावी प्रतिस्पर्धामा नभए पनि उनले समर्थन गर्ने उम्मेदवार र गुट भने बलियो हुने नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले बताए।

यस्तोबेलामा कांग्रेसमा परम्परागत गुट भत्किने र नयाँ गुट निर्माण हुने उनको भनाइ छ। १५औँ महाधिवेशनमा गुट कसले नेतृत्व गर्ने र कुन गुटमा को-को नेता हुने त्यतिबेलै हुने उनको दाबी छ।

पश्चिमका मध्यपश्चिमका जिल्लामा महाधिवेशन लक्षित राजनीतिक गतिविधि हुन थालेका छन्। जिल्ला स्तरदेखि पालिकासम्मका नेताहरुले महाधिवेशनका लागि आन्तरिक तयारीमा समेत लागेका छन्।  

दुवै जना नेताले सभापतिमा आफूलाई घोषणा नगरे पनि आफूलाई विश्वास गर्न कार्यकर्तामाझ अपिल भने गरेका छन्। ‘पार्टीलाई कसरी सुदृढ र बलियो बनाउने योजना तयारी गरेको छु,’ डा. कोइरालाले भने, ‘पार्टी सङ्गठनलाई चलायमान बनाउन सक्षम र योग्य व्यक्ति चाहिन्छ। त्यसका लागि म जस्तोसुकै कदम पनि उठाउन तयार छु।’ दुवै नेताले सरकारप्रति असन्तुष्ट व्यक्त गरेका छन्। जनताको जनस्तर उस्तै भएको भन्दै उनीहरुले नागरिकले महसुस गर्ने गरी सरकारले काम गर्नुपर्ने बताएका छन्।

प्रकाशित: १३ फाल्गुन २०८१ १८:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App