मायादेवी गाउँपालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप प्रतियोगितामा छत्रपाली तिर्थादेवी माविले लगातार पाँचौं पटक उपाधि जितेको छ।
प्रतियोगितामा छत्रपाली तिर्थादेवी माविले ११ स्वर्ण, ९ रजत र १ कास्य गरी कुल २१ पदक जित्दै उपाधि रक्षा गरेको हो। जनता मावि बलुहवाले ६ स्वर्ण, ८ रजत, ४ कास्य पदकसहित दोस्रो स्थान हासिल गर्यो भने मुनेश्वर माविले ५ स्वर्ण, १ रजत, १ कास्य पदकसहित तेस्रो स्थान प्राप्त गर्यो।
बिजेता टिम र खेलाडीहरूलाई पूर्व मन्त्री तथा भारतका लागि पूर्व नेपाली राजदूत दीप कुमार उपाध्याय, लुम्बिनी प्रदेशसभा सदस्य मधुसूदनशरण चौधरी, पूर्व प्रदेश मन्त्री सहसराम यादव र गाउँपालिका प्रमुख वलीउद्दीन मुसलमानले कप, मेडल र प्रमाणपत्र हस्तान्तरण गरे।
सो अवसरमा पूर्व राजदूत उपाध्यायले खेलाडीहरूले अनुशासनमा रही प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए। साथै, उनले तीनवटै तहका सरकारले खेल क्षेत्रको विकासका लागि लगानी बढाउन आवश्यक रहेको बताए।
प्रदेशसभा सदस्य चौधरीले सिर्फ खेल सामग्री वितरण गरेर मात्र नभई शिक्षामा खेलकुदको लगानी वृद्धि गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। साथै, उनले गाउँपालिकामा रंगशाला निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
पूर्व प्रदेश मन्त्री यादवले अधुरो रहेको खेल मैदान छिट्टै सम्पन्न गर्नुपर्ने बताए। उनले आफ्नो तर्फबाट खेल क्षेत्रको विकासमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।
गाउँपालिका प्रमुख मुसलमानले आन्तरिक आय र सीमित बजेटका बाबजुद पनि खेल क्षेत्रमा आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिए। उनले गाउँपालिकाले शिक्षा, स्वास्थ्य र खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए।
प्रतियोगिताका अवसरमा उत्कृष्ट खेल शिक्षक, अनुशासित विद्यालय, तथा खेल क्षेत्रलाई सहयोग पुर्याउने व्यक्तिहरूलाई सम्मान पत्र प्रदान गरिएको कार्यक्रम संयोजक हिन्दराज चौधरीले जानकारी दिए।
प्रतियोगितामा गाउँपालिकाभित्रका २१ विद्यालयका छात्र-छात्रा सहभागी रहेको गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखा प्रमुख माधव घिमिरेले जानकारी दिए।
प्रकाशित: २७ माघ २०८१ २१:१८ आइतबार