१ चैत्र २०८१ शुक्रबार
image/svg+xml २:५३ पूर्वाह्न
राजनीति

नाबालक परिचयपत्रको व्यवस्था नागरिकता ऐनमा समावेश गरिने

<br>

सरकारले १६ वर्ष नपुगेका बालबालिकालाई नाबालक परिचयपत्र प्रदान गर्ने व्यवस्था नेपाल नागरिकता ऐन, २०६३ मा समावेश गर्ने प्रस्ताव गरेको छ।

बिहीबार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ पेश गर्दै गृहमन्त्री रमेश लेखकले बालबालिकाको पहिचान सुनिश्चित गर्न नाबालक परिचयपत्रको व्यवस्था गर्न लागिएको जानकारी गराए।

गृहमन्त्री लेखकका अनुसार नाबालक परिचयपत्रले नेपाली नागरिकताको औपचारिक प्रमाणपत्र प्राप्त गर्नुअघि नै बालबालिकाको कानुनी पहिचान सुनिश्चित गर्नेछ।

यस व्यवस्थाले विशेष गरी अनाथ, संरक्षकविहीन तथा अभिभावकीय कागजात नभएका बालबालिकालाई कानुनी रूपमा प्रमाणित गर्न सहयोग पुग्ने बताइएको छ।

सरकारले नाबालक परिचयपत्र जारी गर्ने प्रक्रियालाई सरल र प्रभावकारी बनाउन आवश्यक कानुनी संरचना विकास गरिने जनाएको छ। यस व्यवस्थाले बालबालिकाको नागरिकता सम्बन्धी अन्य प्रशासनिक प्रक्रियालाई समेत सहज बनाउने अपेक्षा गरिएको छ।

यसअघि नागरिकता ऐनमा नाबालकहरूको छुट्टै पहिचान सुनिश्चित गर्ने कानुनी व्यवस्था स्पष्ट रूपमा उल्लेख नभएकाले यो संशोधन आवश्यक भएको सरकारको धारणा छ।

यदि संशोधित विधेयक पारित भएमा १६ वर्ष नपुग्दासम्म नाबालक परिचयपत्रको आधारमा उनीहरूलाई सरकारी सेवा-सुविधा, शैक्षिक प्रमाणिकरण, स्वास्थ्य र सामाजिक सुरक्षाका कार्यक्रमहरूमा समावेश गराउन सहज हुनेछ।

नागरिकता ऐनको संशोधन प्रस्ताव संसदमा पेश भइसकेकाले अब यसबारे विस्तृत छलफल गरी निर्णय गरिने छ।

प्रकाशित: २७ माघ २०८१ १९:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App