उदयपुरको बिकट ताप्ली गाउँपालिकाले सबै वडाका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्दै उनीहरुको निःशूल्क स्वास्थ्य परीक्षण गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गाउँपालिका भएकाले चिसो मौसममा जाडो छल्न ५ वटै वडाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले हरेक वडाका ८० वर्ष र सोभन्दा माथि उमेर समूहका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिसकेको छ । १ नं. वडा ओख्ले, २ लेखगाउँ, ३ ईनामे, ४ ठानागाउँ र ५ नं. वडा रुपाटारका ८० र सोभन्दा माथि उमेरका १ सय ९० जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईका अनुसार हरेक वडामा अध्यक्ष ढुङ्गराज विश्वकर्मा, उपाध्यक्ष धनमाया मगर, सम्बन्धित वडाध्यक्ष र आफुसमेतको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको हो । भौगोलिक रुपमा ९० प्रतिशतभन्दा बढी चिसो र उच्च भूभाग रहेको ताप्लीमा प्रायः सबैजसो महिनामा जाडो हुने गर्छ ।
५ नं. वडाको केही भाग र समग्र गाउँपालिकाको ३० प्रतिशतभन्दा कम भूभागमा मात्र वैशाखदेखि भदौसम्म सामान्य गर्मी हुने तर, बाँकी भागमा १२ महिनै जाडो हुने हाकिम राई बताउँछन् । यस्तो चिसो ठाउँ भएकाले जेष्ठ नागरिकलाई स्वस्थ्य रहन वर्षभरी न्यानो कपडा लगाउनु अनिवार्य रहेको हाकिम राईले बताए ।
गाउँपालिकाले न्यानो कपडा वितरण कार्यक्रममा जेष्ठ नागरिकको निःशूल्क स्वास्थ्य परीक्षण पनि गराएको छ । वडावडामा शिविर राखेर कपडा वितरण गर्नुका साथै वडा स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गराइएको हो । स्वास्थ्यकर्मीहरुले परीक्षण क्रममा जेष्ठ नागरिकहरुलाई जाडो समयमा झोलिलो, पोषिलो र स्वस्थकर खाना खान, नियमित सरसफाई गर्न, तनाव नलिन, परिवारका सदस्यहरुसँगै बस्न, रमाउन र नियमित विहार गर्न सल्लाह दिएको राईले बताए ।
उनीहरुले जेष्ठ नागरिक पारिवारका सदस्यहरुलाई पनि आफु पनि सरसफाईयुक्त रहन र आमा बाउ हजुरवाउ हजुरआमालाई पनि स्वस्थ्य र सफा राख्न तथा अभिभावकको पूर्ण जिम्मेबार भएर भूमिका खेल्न सुझाएका थिए । बाउआमा परिवारको मात्र नभएर समाज र देशकै गहना भएकाले सबैले माया गर्नुपर्ने र सबभन्दा बढी घर परिवारले माया, स्नेह र सम्मान गर्नुपर्ने उनीहरुको सुझाव थियो ।
गाउँपालिका उपाध्यक्ष मगरले जेष्ठ नागरिकहरुको स्वास्थ्यप्रति सचेत हुँदै वार्षिक स्वीकृत कार्यक्रम अनुसार न्यानो कपडा वितरण गरिएको बताईन् । उनले खासगरी आर्थिक अवस्था कमजोर भएका परिवारका जेष्ठ नागरिकलाई जाडो याममा स्वास्थ्य समस्या पर्ने भएकाले गाउँपालिकाले यस्तो कार्यक्रम सञ्चालन गरेको बताईन् ।
गाउँपालिका अध्यक्ष विश्वकर्माले गरिब तथा विपन्न परिवारका जेष्ठ नागरिकलाई जाडो याम निकै महँगो सावित हुने भएकाले गाउँपालिकाले योजना बनाएरै न्यानो कपडा वितरण गरेको बताए । उनले आर्थिक अवस्था कमजोर भएका तथा परिवारमा एकल र बृद्ध जीवन बिताईरहेका जेष्ठ नगारिकलाई लक्षित गरी सञ्चालन गरिएको यो कार्यक्रम उपलब्धीमूलक हुने बताए । गरिवी, अशिक्षा र असहाय जेष्ठ नागरिकलाई गाउँपालिकाको यस्तो सानै सहयोग पनि महत्वपूर्ण हुने अपेक्षा गरिएको अध्यक्ष विश्वर्माले बताए ।
स्वास्थ्य परीक्षणको क्रममा बृद्धबृद्धाहरुलाई चिसो मौसाममा दम, बाथ, रुघाखोकी र निमोनियाजस्ता विभिन्न रोगले सताएको फेला परेको छ । त्यस्ता विरामी जेष्ठ नागरिकलाई तत्काल न्यानो कपडाले रोकथाम गर्ने र विस्तारै आवश्यक उपचारको व्यवस्था मिलाउने योजना पनि गाउँपालिकाले बनाएको छ । त्यसका लागि सुरुमा गाउँ अस्पताल र स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार र औषधि उपलब्ध गराउने र जटिल अवस्था आए थप उपचारका लागि सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
गाउँमै उपलब्ध हुने औषधिबाट संभव भएसम्मको उपचार तत्काल गर्ने गरी प्रत्येक वडामा न्यानो कपडा वितरण गर्दै सम्बन्धित वडाध्यक्ष, सदस्यहरु, वडा सचिव, स्वास्थ्यकर्मी लागी पर्न आवश्यक निर्देशन नै गाउँपालिकाले दिएको जनाएको छ ।
प्रकाशित: २४ माघ २०८१ १६:२३ बिहीबार