२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
राजनीति

विवादका बाबजुद सक्रिय राजनीतिमा पूर्वउपराष्ट्रपति पुन

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा (माओवादी केन्द्र) को सक्रिय राजनीतिमा फर्किएका छन्। सोमबार (आज) बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले उनलाई पार्टीको आर्थिक तथा उत्पादन विभागको जिम्मेवारी दिएको छ।

पहिल्यैदेखि पार्टीको विभिन्न समिति बैठकहरूमा आमन्त्रित सदस्यका रूपमा सहभागी हुँदै आएका पुन आर्थिक तथा उत्पादन विभागको जिम्मेवारी पाएसँगै औपचारिक रूपमा पार्टीको सक्रिय राजनीतिमा फर्किएका हुन्।

पुन २०७२ कात्तिकदेखि २०७९ सम्म दुई कार्यकाल उपराष्ट्रपति बने। २०७९ को चैतमा रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि उनी बिदा भएका थिए। उनी डेढ वर्षजति चुपचाप नै बसे। अब भने उनी सक्रिय राजनीतिमा फर्किएका छन्।

त्यसो त उपराष्ट्रपति भइसकेका पुनलाई सक्रिय राजनीतिमा फर्काउन नहुने आवाज पार्टीभित्र ठूलो थियो। अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष बनाउने वचन दिइसकेका थिए। तर, पार्टीभित्र सक्रिय राजनीतिमा फर्काउन नहुने आवाज उठेपछि उनी पनि हच्किए।

यसपछि मध्यमार्गी बाटोबाट अध्यक्ष दाहालले पुनलाई पार्टी राजनीतिमा सक्रिय गराएका हुन्। गत पुस २१ गते बसेको केन्द्रीय समितिको बैठकमा बढीजसो केन्द्रीय सदस्यहरूले पुनलाई सक्रिय राजनीतिमा नफर्कन सुझावसमेत दिएका थिए।

पूर्वउपराष्ट्रपति पुनसमेत सहभागी माओवादी बैठक।

तर, त्यसको बेवास्ता गर्दै पुन पार्टीमा फर्किएका हुन्। यो विशेषगरी अध्यक्ष दाहालकै चाहनामा भएको माओवादीका नेताहरू नै बताउँछन्। माओवादीका एक पदाधिकारी नागरिकसँग भन्छन्, 'उहाँ (नन्दबहादुर पुन) को त चाहना थियो कि थिएन, थाहा भएन। तर, अध्यक्ष कमरेडको भने पक्कै हो। पुनको पनि होला।'

जसै अध्यक्ष दाहालको सर्वस्वीकार्यता पार्टीभित्र घट्दै गएको छ। झन्डै चार दशकयता पार्टी प्रमुखकै रूपमा रहेका उनलाई उपमहासचिव जनार्दन शर्मालगायतका नेताहरूको चुनौती दिने गरेका छन्। यसर्थ, अध्यक्ष दाहालले तिनै चुनौतीका विरुद्धमा पुनलगायतका नेताहरूलाई उभ्याएको विश्लेषण भइरहेको छ।

पार्टीको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को चुनावयता अध्यक्ष दाहाल अझ हच्किएको चर्चा माओवादी वृत्तमा छ। अझ क्रान्तिकारीको अध्यक्ष 'हत्याउन'का लागि उनी आफैँले उपमहासचिव शक्ति बस्नेतको नाममा गुट बनाएका थिए भनिन्छ। त्यहाँबाट विजयप्रकाश सापकोटाले अध्यक्ष जिते। तर, पनि उपाध्यक्षदेखि कोषाध्यक्षसम्ममा जनार्दन शर्माकै बहुमत छ।

जनार्दन शर्माले यसअघि बसेको एउटा स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले युवा पुस्तालाई नेतृत्व सुम्पनुपर्ने लिखित प्रस्ताव नै पेस गरेका थिए। यी यावत् घटनाबाट झस्किँदै आएका अध्यक्ष दाहालले पुनलाई मात्रै नभएर पार्टी नेत्रविक्रम चन्द, महिन्द्र राय यादव, गंगानारायण श्रेष्ठलगायतका नेतालाई पार्टी भित्र्याएर पुन: आफ्नो पक्षमा माहोल बनाउन लागिपरेको विश्लेषण हुने गरेको छ। पार्टी राजनीतिको पुनको सक्रियता पनि यहीँ जोडिन्छ।

जे होस्, पुन पार्टी राजनीतिमा फर्किसके। अब यसको जवाफ स्वयम् पुनले भन्दा पनि अध्यक्ष दाहाले नै दिनुपर्नेछ। पार्टीका बढीजसो नेता र पार्टीभन्दा बाहिरको वृत्तमा पनि उपराष्ट्रपतिजस्तो राजकीय पदासीन भइसकेको नेता पुन: सक्रिय राजनीतिमा फर्किने कुराको सख्त आलोचना भइरहेको थियो।

प्रकाशित: २१ माघ २०८१ २१:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App