प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदले समयमै कानुन निर्माण नगरे समय तोक्नुपर्ने अवस्था आउने बताएका छन्।
शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले संसदमा आएका विधेयकहरू टुंगो लगाउने विषयमा गम्भीर बन्नुपर्ने उल्लेख गर्दै समयमै निर्णय नभए कानुन निर्माणका लागि निश्चित समयसीमा तोक्नुपर्ने आवश्यकताबारे संकेत गरे।
उनका अनुसार हाल विभिन्न संसदीय समितिमा १४ वटा विधेयकहरू विचाराधीन छन्। ती विधेयकहरूको छिटो निष्कर्ष निकाल्न सहयोग पुर्याउने उद्देश्यले छ दिनपछि संसद बैठक बोलाइएको घिमिरेले जानकारी दिए। ‘संसद बैठक ढिलो राख्नुको कारण समितिहरूलाई विधेयक टुंग्याउने समय दिनु हो,’ उनले भने।
सभामुख घिमिरेले संसदले गर्नुपर्ने काम समयमा नगरेको कारण अहिलेको अवस्था सिर्जना भएको उल्लेख गर्दै अब कानुन निर्माण प्रक्रिया निश्चित समयसीमाभित्रै टुंगो लगाउने गरी क्यालेन्डर बनाएर अघि बढ्नुपर्ने बताए।
साथै, सदन नचल्दा अध्यादेश ल्याउने विधि रहेको स्पष्ट पार्दै उनले सरकारले ल्याएका अध्यादेशहरू संसद बसेपछि या त फिर्ता लिने वा छलफलमार्फत टुंगो लगाउने व्यवस्था रहेको बताए।
अध्यादेश पारित गर्ने वा फिर्ता लिने विषय संसदबाटै टुङ्ग्याइने उनको भनाइ थियो।
प्रकाशित: १९ माघ २०८१ २२:५६ शनिबार