लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री आदेश कुमार अग्रवालले नेपालमा मारवाडी समुदायले परोपकारी क्षेत्रमा पुर्याएको योगदान अनुकरणीय रहेको बताएका छन्।
मारवाडी सेवा समिति नेपालको ७२औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अग्रवालले प्राकृतिक विपत्तिदेखि सामाजिक सेवासम्म मारवाडी समुदायको योगदान अतुलनीय रहेको उल्लेख गरे।

‘१९९० को महाभूकम्पदेखि २०७२ को भूकम्प र हालैको जाजरकोट भूकम्प तथा बाढी पहिरोसम्म मारवाडी समुदायले सक्रिय रूपमा राहत तथा उद्धार कार्य गर्दै आएको छ,’ उनले भने, ‘नेपालमा मात्र नभई विश्वभर नै मारवाडी समुदाय सामाजिक सेवामा अग्रणी रहँदै आएको छ।’
मारवाडी सेवा समिति नेपालले ७२ वर्षदेखि सामाजिक सेवाका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। संस्थाका अध्यक्ष प्रमोद कुमार अग्रवालका अनुसार समितिले पशुपति गौशाला धर्मशालामार्फत गाई संरक्षण, तीर्थयात्रीलाई सेवा, निःशुल्क कृत्रिम खुट्टा वितरण, डाइलाइसिस सेवा, भोजन तथा शव वाहन सुविधा प्रदान गर्दै आएको छ। साथै, विपद्को बेलामा नेपाल सरकार र स्थानीय निकायहरूसँग सहकार्य गरी राहत, औषधि तथा खाद्यान्न वितरण गर्दै आएको छ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री अग्रवालले नेपालका पहिलो क्याटरिङ व्यवसायी तथा २०११ सालको संसद् सल्लाहकार स्व. बी.एल. शर्मा, समिति सञ्चालन गरिएको एम्बुलेन्स सेवाका लागि दाता स्व. पुष्करलाल संघई र बोटलर्स नेपालका संस्थापक तथा समिति सचिव स्व. विजय कुमार धारिवाललाई मरणोपरान्त सम्मान गरे।

त्यस्तै, संस्थाले समाजसेवामा उल्लेखनीय योगदान दिने ज्येष्ठ नागरिकहरूलाई पनि सम्मान गर्यो। पूर्व अध्यक्षहरू चिरंजीलाल अग्रवाल र राजेन्द्र कुमार खेतानले पनि संस्थाको योगदानबारे मन्तव्य राखे।
प्रकाशित: १९ माघ २०८१ १९:३६ शनिबार