पूर्व गृहमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफुहरुले सुशासन कायम गर्न खोज्दा सरकार ढालिएको दाबी गरेका छन्।
आफ्ना मान्छेहरू मुछिन थालेपछि ठुला दल रातारात घाँटी जोड्न पुगेको भन्दै उनले भ्रष्टाचार र अनियमितता रोक्न खोज्दा सरकार ढलेको उल्लेख गरे।
वर्तमान सरकारले विगतमा सुरु गरेका कामहरु अवरुद्ध गरेर भ्रष्टाचार ढाकछोप गर्नमा केन्द्रित भएको उनको भनाइ थियो।
भ्रष्टाचारी जोगाउन दैनिकी खर्चिएको यो सरकारले सुशासन कायम गर्न नसक्ने उनले बताए। ‘विगतमा हामीले अघी बढाएका कामहरु अहिले अवरुद्ध पारिएको छ’, श्रेष्ठले भने, ‘सुरकारको दैनिकी नै भ्रष्टाचारी जोगाउनमा सक्रिय छ कसरी हुन्छन् अन्य काम ?’ सरकारले आम सर्वसाधारण नागरिकमा कुनै आशा जगाउन नसकेको उनले बताए।
सन्धिखर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले दुई तिहाइको बलियो मतको सरकारले समेत केही गर्न नसक्दा जनतामा निराशा बढेको सुनाए। सरकारको नीति र कार्यले जनतामा विश्वास पैदा गर्न नसकेको उनको भनाइ थियो।
‘माओवादीको सरकार हुँदा भ्रष्टाचार नियन्त्रणमा प्रक्रिया चालेको थियो। भ्रष्टाचार गर्ने व्यक्तिहरूलाई ठुलो साने नभनी कारबाही गर्न हामी दृढ थियौं। लोडसेडिङको अन्त्य र मिटरब्याज पीडितलाई न्याय दिलाउने काम पनि हाम्रै सरकारले गर्यो। यस्ता कदमले जनता उत्साहित थिए। तर, अहिले सरकारको काम कारबाही जनताले हेरिरहेकै छन्।’ श्रेष्ठले भने।
सरकार ढाल्ने र सत्तामा पुग्ने आफूहरूको कुनै उद्देश्य नरहेकाले सशक्त प्रतिपक्षको भूमिकामै केन्द्रित रहने बताए। जनताको बिचमा गएर पार्टी संगठन निर्माणमा जोड दिने आफूहरूको अभियान रहेको उनले प्रष्ट पारे।
सरकार अस्थिरताको जिम्मेवारी कुनै एउटा दलको मात्र नभएर सबै दलको हुने बताए। २०७९ को आम निर्वाचन पछाडि ४-५ पटक सरकार परिवर्तन भएको भन्दै नेता श्रेष्ठले यसमा सबै दलको इमानदारिता माथि प्रश्न गर्न सकिने बताए।
प्रकाशित: १९ माघ २०८१ १९:०९ शनिबार