उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिमा अनेक थरी मान्छेहरू आउने बताउँदै जनताले सधैँ सही मान्छे छान्नुपर्ने बताएका छन्। शनिवार काठमाडौंको एक विद्यालयको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो दाबी गरेका हुन्।
‘अहिले मान्छेहरूलाई कस्तो लाग्छ भने, यो राजनीति गर्ने मान्छेहरू सबै समाजको काम नलाग्ने मान्छे मात्रै राजनीतिमा लाग्छ, भन्ने खालको भाष्य विकास गर्न खोजिरहेको छ,’ उनले भने,‘त्यसमा सबैले के बुझ्नुपर्यो भने संसारमा पठाउँदा नै विवेक बुद्धि भगवानले दिएको छ । सही र गलत छुट्टाउन कसैले भन्यो भन्दैमा त्यसैको लहलहैमा लाग्नु हुँदैन । कुनै आधार नसोची लाग्नु हुँदैन ।’
राजनीति देशको समग्र विकास गर्न सक्ने सशक्त माध्यम रहेको र राजनीति शक्तिको स्रोत पनि भएकाले यहाँ अनेक थरी मान्छे आउने बताए।
‘यहाँ अनेकौँ मान्छेहरू आउँछन् । चटकेहरू पनि आउँछन् । विदेशमा गएर ठुलोठुलो काण्ड गरेर नेपाल फर्किएर अनि ठुलो नेता बन्नका लागि मान्छेहरू नआएका होइनन् । आइराख्छन्,’ उपप्रधानमन्त्री सिंहले भने। जनताले छान्ने बेला चुके आफ्नै अधिकार कुण्ठित हुने पनि उनले बताए।
उपप्रधानमन्त्री सिंहले चटके र विदेशमा काण्ड घटाएका कसलाई भन्न खोजेका हुन, त्यो भने प्रष्ट खुलाएनन्।
प्रकाशित: १९ माघ २०८१ १४:३५ शनिबार