९ फाल्गुन २०८१ शुक्रबार
image/svg+xml ०:१५ पूर्वाह्न
राजनीति

सडक र सदन दुबैतिर सरकारविरुद्ध दाहाल, छैन यादवको साथ

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सडक र सदन दुबैतिरबाट सरकारविरुद्ध 'फायर' खोल्ने तयारी गरेका छन्। उनले त्यसका लागि आवश्यक तयारी गरिरहेका छन्।  

संसद्को हिउँदे अधिवेशन शुक्रबार (भोलि) सुरु हुँदैछ। प्रमुख प्रतिपक्षी दलका नेता दाहालकै अगुवाइमा विपक्षी दलहरूले पनि सरकारविरुद्ध निर्मम हुने निष्कर्ष निकालेका छन्।

दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दल साथमा लिएका छन्। दाहालले रास्वपा नेता डोलप्रसाद अर्याल, राप्रपा नेता राजेन्द्र लिङ्देन, एकीकृत समाजवादीका नेता माधवकुमार नेपाललगायतका नेताहरूलाई आफूसँगै खडा गरेका छन्।

माओवादी केन्द्रसहितका यी दलहरूले संसद्‌मा सरकारको आलोचना गर्ने, यसबीचमा ल्याइएका विधेयक अस्वीकार गर्नेलगायतका योजना बनाइसकेका छन्।

दाहाल सदन बाहिर (सडक) बाट पनि सरकारविरुद्ध 'फायर' खोल्ने योजनामा छन्। उनको दल माओवादी केन्द्रले आवश्यक परे सरकारविरुद्ध सडकमा जाने निष्कर्ष निकालिसकेको छ।

यससँगै एकीकृत समाजवादीले पनि यही बताइरहेको छ। आज बसेको बैठकले आवश्यक परे सडकमा जाने निर्णय गरेको छ। आजको बैठकमा अध्यक्ष माधवकुमार नेपालले नेता-कार्यकर्तालाई जतिबेला पनि सडकमा जानुपर्ने हुनसक्ने भन्दै तयारी अवस्थामा रहन आह्वान गरेका छन्।

विपक्षी दलहरूको बैठक।

उता रास्वपा र राप्रपा पनि परिआए सडकमा जाने मुडमै छन्। राप्रपाले त बेला बेला सडककै सहयोग लिँदै आएको छ। रास्वपा पनि सरकारका प्रति सन्तुष्ट छैन। पार्टी सभापति रवि लामिछानेप्रति सरकारले राजनीतिक प्रतिशोध साँधेको जिकिर गर्दै आएको उसले यसबीचमा थुप्रै  सडक सङ्घर्षसमेत गर्‍यो।

यी सबै सन्दर्भहरूलाई 'ग्र्याब' गर्न दाहाल सफल भएका छन्। यसर्थ, उनले सरकारविरुद्ध सदन र सडक दुबैतिरबाट फायर खोल्ने तयारी गरेका छन्।

संसद्‌मा नभएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पनि दाहालकै साथमा छ। उसले सडकमा दाहाललाई साथ दिने बताइसकेको अवस्था छ। यसपछि दाहाल नि हौसिएका छन्।

असन्तुष्ट जसपा नेपाल

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (पार्टी) नेपाल भने दाहालसँग सन्तुष्ट छैन, यसकारण ऊ साथमा पनि छैन।

यसअघि यादव दाहाल नेतृत्वको सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री नै थिए। उनी मन्त्रीकै हैसियतमा अमेरिका भ्रमणमा पुगेको बेला यता उनको पार्टी फुट्यो। त्यो काम प्रधानमन्त्री दाहालले नै गरेको ठम्याइ यादवको अझै छँदैछ।

उपेन्द्र यादव र पुष्पकमल दाहाल।

पार्टी फुटेयता दाहाल-यादवबीच त्यति संवादसमेत भएको छैन। त्यसबीचमा दाहालले फकाउनका लागि अनेकन् उपाय अपनाए तर, यादव मानेनन्। पार्टी फुट्नुअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी सम्मिलित समाजवादी मोर्चामा यादवको दल जसपा नेपालसमेत थियो। तर, पार्टी फुटेसँगै उनी बाहिरिए र मधेसकेन्द्रित भए।

यादवलाई फकाउनका लागि दाहालले समाजवादी मोर्चाको बैठकमा पछिसम्म खाली कुर्सीसमेत राखे तर, यादव फकिएनन्। बरु भने, 'त्यो कुर्सीमा उनी आफैँ बसून्। म बस्दिनँ, बैठकमा पनि जान्नँ।'

अहिले यादवसँग संसद्‌मा पाँच सांसद छन्। १२ सांसदमध्ये सात सांसद लिएर तत्कालीन सङ्घीय परिषद् अध्यक्ष अशोक राईले जनता समाजवादी पार्टी (जसपा) गठन गरेका छन्। त्यसयता यादवले दाहाललाई पत्याइरहेका छैनन्।

अहिले दाहालले यादवको साथ खोजिरहेका छन् तर, सघाउने पक्षमा छैनन् यादव।

यादवको प्राथमिकता मधेसकेन्द्रित दल 

अहिले यादवको प्राथमिकतामा दाहाल, समाजवादी मोर्चा वा अरु ठूला दलभन्दा साना मधेसकेन्द्रित दलहरू पर्ने गरेका छन्।

उनले लोकतान्त्रिक समाजवादी मोर्चा (लोसपा), जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनमत पार्टी, जनता प्रगतिशील पार्टी (जप्रपा), आम जनता पार्टी (आजपा), राष्ट्रिय मुक्ति पार्टी नेपाललगायतका दलहरूसँग संवाद गरिरहेका छन्।

८ मधेसकेन्द्रित दलहरूको बैठक।

 यादवकै पहलमा बिहीबार (आज) मात्रै आठ दलले आठ सदस्यीय कार्यदल बनाएका छन्। कार्यदलले एजेन्डागत विषयसँगै आपसमा कार्यगत एकता तथा पार्टी एकताबारे छलफल र संवाद गर्ने बताइएको छ।

तर, यादवले आफूभन्दा ठूला दलहरूसँग भने घाँटी नजोड्ने नीति अवलम्बन गरेका छन्। उनले अब कहिल्यै माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरूसँग सहकार्य गर्दैनन् त ? यसमा अहिल्यै केही भन्न नसकिने नेताहरू बताउँछन्। तर, तत्कालै भने सहकार्य सम्भव नरहेको प्रवक्ता मनिष सुमन सुनाउँछन्। त्यसैले अहिलेका लागि आफूहरूको प्राथमिकता मधेसकेन्द्रित दलहरू नै रहेको उनी बताउँछन्।

प्रकाशित: १७ माघ २०८१ १९:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App