१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

सत्ता समीकरण भत्काउन बाह्य शक्ति सक्रिय: सिपी मैनाली

नेकपा मालेका महासचिव सिपी मैनालीले नेकपा एमाले र नेपाली कांग्रेसको सत्ता समीकरण भत्काउन बाह्य शक्ति सक्रिय रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एकदेव आलेको ५६औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

महासचिव मैनालीले नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार अघि बढे २०८४ सालसम्म स्थायित्व हुने संभावना रहेको तर बाह्य शक्तिले सरकार भत्काउने षड्यन्त्र गरिरहेको दाबी गरे। उनले देशभित्रका कतिपय शक्तिहरूले पनि बाह्य शक्तिको एजेन्डालाई समर्थन गरिरहेको आरोप लगाए।

उनले भने, ‘नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने हो भने स्थायित्व सम्भव छ, तर बाह्य शक्ति यिनीहरूलाई मिल्न नदिने षड्यन्त्रमा लागेको छ। देशभित्रका केही शक्तिहरूले बाह्य शक्तिको पक्षमा खेलिरहेका छन्। यसरी नै बाह्य शक्ति हाबी हुने हो भने, बहुमत भए पनि सरकार ढल्न कुनै आइतबार लाग्दैन।’

महासचिव मैनालीले बाह्य शक्तिको प्रभुत्व, दलाल पुँजीवाद, र सामन्तवादी प्रवृत्तिलाई अन्त्य गर्न आवश्यक रहेको बताए। उनका अनुसार यी तत्वहरू हाल देशको प्रमुख शत्रु हुन्।

उनले थपे, ‘बाह्य शक्तिहरूसँगको अन्तरविरोध र सामन्तवादी सोचका कारण देशले स्थायित्व पाउन सकेको छैन। यिनको अन्त्य नै अहिलेको आवश्यकता हो।’

त्यसैगरी, महासचिव मैनालीले कम्युनिस्टहरूबीच भएको कमजोरी, त्रुटि र असफलताका विषयमा खुलेर छलफल गर्न आवश्यक रहेको धारणा पनि व्यक्त गरे।

प्रकाशित: १२ माघ २०८१ १७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App