११ माघ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिद्धबाबा सुरुङमार्ग छिचोल्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (आज) राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग छिचोल्दै छन्। 

बिहान पाल्पाको बगनासकाली गाउँपालिका भवन र तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिसकेपछि प्रधानमन्त्री ओली सुरुङमार्ग छिचोल्ने कार्यक्रममा सरिक छन्।

एक हजार एक सय २६ मिटर लामो सुरुङमा मुख्य सुरुङको खन्न बाँकी रहेको साढे एक मिटर भाग आज छिचोलिने आयोजनाका प्रमुख कृष्णराज अधिकारी जानकारी बताए। सुरुङ छिचोलिएपछि अन्य कामलाई तीव्रता दिइने उनले बताएका छन्। 

सुरुङमार्गको तीनवटा सहायक सुरुङ यसअघि नै छिचोल्ने काम सकिएको छ। जसमा बाइपास सुरुङ ३ को गत भदौ २६ मा, बाइपास सुरुङ १ को असोज ४ मा र बाइपास सुरुङ २ को पुस ७ मा ‘ब्रेक थ्रु’ भएको थियो। बाइपास सुरुङहरू क्रमशः १५१, २६१ र ३३० मिटर लामा छन्।

मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरेपछि सुरुङभित्रको भुइँ र भित्तामा बिजुलीबत्ती जडानलगायतका कामलाई तीव्रता दिइने प्रमुख अधिकारीले बताएका छन्। यस्तै गाडी गुड्ने क्षेत्र निर्धारण गरेर ‘पेभमेन्ट’ ढलानको काम अघि बढ्ने आयोजनाले जनाएको छ।

सिद्धार्थ राजमार्गको दोभानदेखि सिद्धबाबा मन्दिरसम्मको क्षेत्रलाई पहिरोको अति जोखिम क्षेत्र मानिने हुँदा सरकारले सुरुङमार्ग निर्माणको अवधारणा अघि सारेको थियो।

सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख रुपियाँमा ठेक्का सम्झौता गरेर पाँच वर्षमा निर्माण सक्नेगरी काम अघि बढाएको थियो। विसं २०८० माघ ४ गतेदेखि सुरुङ खन्न सुरु भएको थियो।

हालसम्म सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत पुगेको आयोजनाले जनाएको छ।

प्रकाशित: ११ माघ २०८१ ०८:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App