९ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

एकीकृत खानेपानी आयोजनाको कार्यान्वयनबारे छलफल

खानेपानी मन्त्री प्रदीप यादव र एसियाली विकास बैंक (एडिबी) का नेपालका लागि देशीय निर्देशक आर्नो कोस्वाबीच बुधबार एकीकृत खानेपानी आयोजना कार्यान्वयन मोडालिटी तयारीका विषयमा विस्तृत छलफल भएको छ।

खानेपानी मन्त्रालयमा आयोजित बैठकमा मन्त्री यादवसहित मन्त्रालयका पदाधिकारी र एडिबीको टोलीबीच नेपालमा एडिबीको ऋण सहयोगमा सञ्चालन हुने एकीकृत खानेपानी तथा सरसफाई आयोजनाको कार्यान्वयन मोडालिटीबारे विचार-विमर्श भएको हो।

छलफलका क्रममा सुधारिएको शहरी खानेपानी मोडल र क्षेत्रीय सहरी विकास परियोजना (आरयूडीपी) मोडललाई अघि बढाउने दुई विकल्पबारे छलफल गरिएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले जानकारी दिए।

उनका अनुसार, यो परियोजनाको विषयमा विगत दुई वर्षदेखि छलफल भइरहेको भए पनि मन्त्री यादवको पहलमा आजबाट गहन छलफल थालिएको हो।

मन्त्री यादवले एडिबीको सहयोगमा नेपालमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र जीवनशैली परिवर्तन गर्ने ठूला परियोजनाहरू सञ्चालन भइरहेको उल्लेख गर्दै नेपाली नागरिक एडिबीको काम र परियोजनाप्रति सन्तुष्ट रहेको बताए।

उनले भने, ‘एडिबीको लक्ष्य र परियोजनाप्रति नागरिक खुसी छन्। खानेपानी क्षेत्रमा एडिबीले गरेको काम छिटो सम्पन्न होस् भन्ने हाम्रो लक्ष्य हो।’ साथै, आरयूडीपी मोडलमा जानुपर्ने विषयमा आफू सहमत रहेको र यसबारे थप छलफल आवश्यक रहेको धारणा व्यक्त गरे।

एडिबीका निर्देशक आर्नो कोस्वाले नेपालमा खानेपानीसहित विभिन्न क्षेत्रमा सञ्चालन भइरहेका परियोजनाहरूलाई समयमै सम्पन्न गराउने उद्देश्य रहेको बताए।

उनले भने, ‘एडिबीले नेपालका विभिन्न ठाउँमा ठूला परियोजनाहरू सञ्चालन गर्दै आएको छ। खानेपानी क्षेत्रमा नयाँ परियोजनाहरू सुरु गर्न तयारी भइरहेको छ, र हामी ती काम छिटो अघि बढाउन चाहन्छौं।’

बैठकमा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, सहसचिव रमाकान्त दुवाडी र एडिबीका नेपाल प्रतिनिधिहरूको उपस्थिति थियो।

प्रकाशित: ९ माघ २०८१ १९:५५ बुधबार