९ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

३ बुँदे सहमतीपछि खुल्यो पोखरा महानगरमा कांग्रेसले लगाएको ताल्चा

कांग्रेस जनप्रतिनिधिसँग सहमति भएपछि पोखरा महानगरपालिकामा लागेको ताल्चा खुलेको छ।

गणपूरक संख्या पुग्दा पनि नगर सभा स्थगित गरेको विरोधमा कांग्रेसले महानगरमा लगाएको ताल्चा सहमतिपछि खुलेको हो।

एमालेले नगर सभा बहिस्कार गरेपछि पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले नगर सभा स्थगित गरेका थिए। त्यही विषयमा कांग्रेस जनप्रतिनिधिहरुले मेयर आचार्यको कार्यालयसँगै उपमेयर मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंको कार्यकक्षमा ताल्चा लगाएको थियो।

तर मंगलबार कांग्रेस जनप्रतिनिधि र मेयर आचार्य, उपमेयर गुरुङ र प्रमुख प्रशासकीय अधिकृत चौलागाईंसहितको टोलीसँग कांग्रेस जनप्रतिनिधिको टोलीले गरेको वार्तामा ३ बुँदे सहमति भएपछि ताल्चा खोल्ने निर्णय भएको नेपाली कांग्रेस पोखरा महानगरपालिका संसदीय दलका नेता दीवसमान प्रधानाङ्गले जानकारी दिए।

उनका अनुसार सहमतिसँगै मंगलबार नै प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा लगाइएको ताल्चा खुलाइएको छ।

त्यस्तै, चालु १६ औं नगर सभा यही माघ ११ गते बोलाउने सहमति भएको छ। सहमति अनुसार आगामी शुक्रबार दिउँसो १ बजे नगर सभा बोलाउने निर्णय भएको प्रधानाङ्गले जानकारी दिए।

‘गणपूरक संख्याभन्दा बढी १५२ जनाले हस्ताक्षर गरिसकेको अवस्थामा नगर सभा बिना कारण स्थगित गरिएको थियो’, उनले भने, ‘हामीले त्यसको विरोधमा ताल्चा लगाएका थियौं तर हाम्रो माग अनुसार नगर सभा बोलाउने सहमति भएपछि ताल्चा खोल्ने निर्णय गरेका हौं।’

यसैगरी, आगामी नगर सभाबाट महानगर, वडा र महाशाखाका योजनाहरुको शीर्षकान्तर र बजेट रकमान्तर गर्ने सहमति पनि भएको छ। योजनाको शीर्षकान्तर र बजेट रकमान्तर नहुँदा पूर्वाधार विकास तथा अन्य कार्यहरू ठप्प भएकाले यस्तो सहमति गरिएको उनले बताए।

त्यस्तै, यसअघि विशेष नगर सभामार्फत पापिरत ७ बुँदे सहमति अक्षरशः पालना गर्ने पनि सहमति भएको छ। यसअघि नगर सभाले पारित गरेको सो सहमति कार्यान्वयन नभएको भन्दै मेयर आचार्यसँग कांग्रेस असन्तुष्ट थियो।

तर सहमतिपछि सबैले महानगरको सुशासन र समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारी एकजुट भएर अगाडि बढ्ने सहमति भएको जारी सहमति पत्रमा उल्लेख छ।

प्रकाशित: ९ माघ २०८१ १८:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App