९ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

अधिकार र दायित्व सँगसँगै लिनुपर्छ: उपप्रधानमन्त्री सिंह

बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा कार्यक्रममा सम्बोधन गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंह। तस्बिर: संगम/नागरिक।<br>

नेपाल सरकारका उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले अधिकार र दायित्वसँगै लिनुपर्ने बताएका छन्।

बुधबार बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्दै उपप्रधानमन्त्री सिंहले बालमैत्री घोषणाले बाल अधिकारको रक्षासँगै बालबालिकालाई कर्तव्य र दायित्व पनि सिकाउने विश्वास व्यक्त गरे।

‘अहिले जहाँतहीँ अधिकारको मात्रै कुरा हुन्छ, दायित्व र कर्तव्यको विषयमा कसैले वास्ता गर्दैनन्,’ उनले भने, ‘सानै उमेरका बालबालिकालाई उनीहरूको अधिकारसँगै दायित्व र कर्तव्यको विषयमा पनि सिकायौँ भने यसले भोली देशका लागि आवश्यक पर्ने असल मानवपुँजी निर्माण गर्न सहयोग पुग्छ।’

समयक्रमसंगै नयाँ-नयाँ चुनौतीहरू देखिएकाले त्यसको सामना गर्ने नेतृत्व निर्माणका लागि बालमैत्री शासनले टेवा दिने उनको भनाई छ।

सम्बोधन गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंह। तस्बिर: संगम/नागरिक।

‘हामीले समयसँगै आउने चुनौतीको सामना गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्नेछ, त्यसका लागि बालमैत्री शासनयुक्त देश बनाउने अभियान ल्याइएको हो,’ उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता पूरा गर्ने अभियानमा बागलुङ नगरपालिकाले महत्त्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिन चाहन्छु।’

फरक प्रसङ्गमा उपप्रधानमन्त्री सिंहले आफ्नो सहरी विकास मन्त्रालय अन्तर्गत बागलुङ नगरपालिका वडा नम्बर-१, ४ र ७ मा सञ्चालन भइरहेको विश्व बैङ्कसँगको सहकार्यको न्यूजिप परियोजना अन्तर्गतको सडक निर्माण नमुना गतिमा अगाडि बढेको उल्लेख गरे।

‘पहिले यो कार्यक्रम सुरु गर्न केही ढिला भयो तर अहिले निकै राम्रोसँग यो कार्यक्रम अगाडि बढेको छ,’ उनले भने, ‘यो समयमै पूरा हुने विश्वास छ। बलेवामा गणेशमानसिंह मार्गलाई सहरी विकास मन्त्रालय मार्फत निर्माण गर्नेछौं।’

उनले बागलुङमा हुने हरेक विकास निर्माणका कार्यहरुमा व्यक्तिगत रुपमा आफू र आफ्नो मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने समेत उनले प्रतिबद्धता जनाए।

यस अगाडि बुधबार बिहान बागलुङमा भएको पत्रकार भेटघाट कार्यक्रममा सिंहले विकास र स्थिरताका लागि वर्तमान गठबन्धन सरकार बनेको र आगामी निर्वाचनसम्म जाने बताएका थिए।

‘सरकार अस्थिर हुने र नागरिकले दुःख पाइरहने भएका कारण हामीले दुई ठूला दलहरू कांग्रेस-एमाले मिलेर स्थिरताका लागि सरकार बनाएका हौं,’ उनी भन्छन्,‘सरकार गठन हुँदा गरेका प्रतिवद्धताहरुमा हामी दत्तचित्त भएर काम गर्ने प्रयास गरेका छौं। सरकार तलमाथि हुन्न। सरकार बाहिर हुनेले कुरा त गरिहाल्छन्।’

संविधान संशोधनको विषयमा राजनीतिक दलहरूले पार्टीगत रुपमा समिति बनाएर छलफल सुरु गरेको र सबैसँगको छलफल र सहकार्यमा अगाडि बढाउने बताए।

‘संविधान संशोधनका लागि दुई तिहाइ बहुमत आवश्यक पर्छ, त्यसका लागि हामीले पार्टी भित्र छलफल चलाएका छौं, अन्य पार्टीहरूसँग समन्वय र सहकार्य गरेर मात्रै यसलाई अगाडि बढाउँछौं,’ उनले भने।

एमालेसँग सरकारमा बसेर काम गर्न गाह्रो भएको भनेर गलत प्रचार भएको समेत उनले दाबी गरे। ‘कांग्रेसका मन्त्रीले सभापतिलाई भनेको भनेर गलत प्रचार भइरहेको छ, गठबन्धन सरकार भएकाले गठबन्धनको मर्म अनुसार नै काम गर्नुपर्छ भन्ने विषयमा छलफल भएको हो, म आफै त्यो बैठकमा सहभागी छु,’ उनले भने।

बालमैत्री स्थानीय शासनयुक्त बागलुङ नगरपालिका घोषणा कार्यक्रम उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंह।  तस्बिर: संगम/नागरिक।

बालमैत्री शासन ऐन अन्तर्गतका ५१ सूचकहरूमा ९२ प्रतिशत अङ्क पाएपछि आफुहरुले बालमैत्री नगर घोषणा गर्न सफल भएको बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठ बताउँछन्।

‘बालबचाउ सम्बन्धी १४, बाल संरक्षण सम्बन्धी १०, बाल विकास सम्बन्धी ६, बाल सहभागिता सम्बन्धी ६ र संस्थागत विकासका १५ वटा सूचकहरूका काम गरेर प्रदेश सरकारको मूल्याङ्कनमा ८० प्रतिशत अङ्क प्राप्त गर्दा घोषणा मिल्ने व्यवस्था छ,’ उनले भने, ‘हामीले ९२ प्रतिशत अङ्क पाएका छौं। अब हामी यसलाई शतप्रतिशत बनाउने र घोषणालाई दिगोपन दिने कार्यमा लाग्छौं।’

बागलुङ नगरपालिका सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र गौतमले मानवीय पुँजी उत्पादनका लागि बालमैत्री शासनयुक्त नगरपालिका बनाउन लागिपरेको उल्लेख गरे।

‘भौतिक विकास मात्रै विकास होइन, मानवीय पुँजी उत्पादनमा ध्यान दिनुपर्छ भनेर हामीले कार्यपालिकाको पहिलो बैठकबाट निर्णय गरेर अगाडि बढ्यौं,’ उनले भने, ‘अहिले घोषणाको चरणसम्म आइपुग्दा बालबालिकाको क्षेत्रमा धेरै काम भएका छन् र आगामी कार्यक्रमहरु बालमैत्री बनाउन लागिपरेका छौं।’ 

हरेक निर्णय प्रक्रियामा बालबालिकाको सहभागिता गराउने गरी बालमैत्री स्थानीय शासनको अवधारणा अनुसार विद्यालय तहबाटै काम सुरु गरेर नगरपालिकालाई बालमैत्री बनाउन सम्भव भएको बागलुङ नगर बालमैत्री फोकल पर्सन धनप्रसाद पोख्रेल बताउँछन्।

बालमैत्री शासनयुक्त नगरपालिका घोषणा हुने बागलुङ नगरपालिका जिल्लामा दोस्रो गण्डकी प्रदेशमा चौथो र देशव्यापी रुपमा पच्चिसौं स्थानीय तह हो।

प्रकाशित: ९ माघ २०८१ १५:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App