संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले राष्ट्रिय निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाले हेलिकप्टर उडान गर्न दिने/नदिने बारेमा निर्णय लिन नसक्ने बताएका छन्।
मंगलबारको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सगरमाथा राष्ट्रिय निकुञ्जमाथि हेलिकप्टर उडाउन नदिने निर्णय राष्ट्रिय निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाले गरेको भन्दै यो गलत भएको बताए।
उनले तल निकुञ्ज छ भनेर माथिबाट नउडाउने हो भने रारा, बर्दिया, शिवपुरी, चितवनको आकाशमा पनि नउडाउनु रु भन्दै प्रश्न गरे। उनले हेलिकप्टर उडानका कारण विद्यार्थी, जनावर, ध्वनी प्रदूषण र त्यहाँको जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नियमनलाई अझै प्रभावकारी बनाउने कुरामा भने राज्यले ध्यान दिने बताए।
निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाका कर्मचारीहरू बसेर यो आकाशमा हेलिकप्टर चल्दैन भन्नु नेपालको संविधान र कानुनको व्यवस्थाअनुसार गलत भएको बताए। सो विषयमा गृह मन्त्रालयले काम गरिरहेको र प्रमुख जिल्ला अधिकारीले पनि सर्वपक्षीय बैठक बसेर छलफल गरिरहेको जानकारी दिँदै आवश्यक परे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि निर्णय गर्ने बताए।
प्रकाशित: ९ माघ २०८१ ११:४७ बुधबार