असोजमा आएको बाढीबारे माघ ८ गतेको प्रदेशसभा बैठकमा सांसदहरूले चर्कै आवाज उठाए । प्रदेशसभामा गत असोजको बाढीबाट पीडित भएकाहरूलाई राहतका लागि प्रदेश सरकारको ध्यानाकर्षण समेत गराए ।
यति मात्रै हैन बाढी पहिरोबाट विस्थापित भएकाहरूको पुनःस्थापना, क्षतिपूर्ति र भत्किएका संरचनाको पुनः निर्माणका विषयमा पनि सांसदहरूले बैठकमा आवाज उठाए । सांसद मैयाँ श्रेष्ठले बाढी पीडित जनताले प्रदेश सरकार भएको अनुभूति गर्न नपाएको गुनासो गरिन् । उनले भनिन् ‘समस्यामा परेको वेला जनताले सरकार भेटेनन् ।’ असोजमा आएको बाढीका कारण नागरिकले पाएको सास्तीमा सरकारले राहत र पुनर्निर्माणको काममा चासो नदिएको उनको आरोप छ । ‘
असोजको समस्या माघको पहिलो हप्तासम्म पनि सम्बोधन हुन सकेको छैन, उनले भनिन्, ‘त्यो बेलाको समस्या अहिले नै समाधान गर्न सकिएन भने अर्को वर्ष निक्कै गाह्रो हुने छ ।’ राहत र पुनर्निर्माणको पर्खाइमा रहेका नागरिकहरू चिसोमा कष्टकर जीवन बिताइरहेको उनले बताइन् ।
सांसद कमलप्रसाद जबेगुले फालेलुङको हेवाखोलाले सडक र सडक पुलहरू बगाएको भए पनि पुनर्निर्माणको लागि कामै अघि नबढेको बताए । उनले विपद् तथा राहत कोषमा पूर्वाधार कार्यालय पाँचथरमा पठाइएको रकमको बारेमा अर्थमन्त्रीको जवाफ माग गरे । अर्का सांसद गोविन्द गिरीले असोजमा आएको बाढी पहिरोले ठूलो क्षति भएकोले अहिले पनि सडक सहज सुचारु हुन नसकेको बताए । गत असोजको बाढीले चारआलीबाट ताप्लेजुङ जाने सडकको इलाम नगरपालिका– ९ मा क्षति पु¥याए पनि अझैसम्म मर्मत हुन नसकेको बताए । असोजको बाढीले क्षति भएको सडक मर्मत नहुँदा यात्रुले अहिले पनि सास्ती खेप्न बाध्य भएको गुनासो गरे ।
सांसद गम्बु शेर्पाले कडा रोगका बिरामीलाई दिने घोषणा गरेको स्वास्थ्य सहायता रकम नदिएर सरकार गैर जिम्मेवार बनेको आरोप लगाए । स्वास्थ्य सहायता दिने बजेटमा भएको व्यवस्था र विनियोजन भएको रकम ७ महिना सम्म पनि वितरण नभएको शेर्पाले बताए । उनले सहायता रकम वितरण सम्बन्धी कार्यविधिसमेत अझै नबनेको, सहायता रकम नपाई कतिपय बिरामीको मृत्युसमेत भइसकेको बताए । सांसद रामदेव यादवले किसानलाई मल खादको व्यवस्था गरिदिन सरकारसँग माग गरे । ‘मल खादको हाहाकार छ, युरिया आउँदा डिएपी नपुग्ने, डीएपी हुँदा युरिया नपुग्ने समस्या छ’, उनले भने, ‘पटक–पटक कृषि मन्त्रालयमा भन्दा पनि वास्ता गरिएको छैन ।’
बैठकमा सांसदहरूले झापा, मोरङ र सुनसरी जिल्लामा हात्ती आतङ्कका कारण नागरिकले सास्ती पाएको तर, हात्ती नियन्त्रणमा सरकारले कुनै कदम नचालेको गुनासो गरेका छन् । सांसद भीम पराजुलीले हात्तीको आक्रमणबाट सुन्दर हरैँचा ८ का हरिप्रसाद घिमिरेको मृत्यु भएको भन्दै सदनलाई जानकारी गराए । उनले हात्तीको आक्रमणबाट मृत्यु भएका परिवार, बालीनालीमा क्षति भएका किसानलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरे ।
उनले किसानलाई मल खाद उपलब्ध गराउन र सङ्खुवासभाको सभापोखरीमा भएको आगलागी प्रभावितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरे । सांसद शोभा चेम्जोङले हात्तीको आक्रमणबाट एकै महिनामा तीन जनाको मृत्यु भएको र करोडौँको क्षति भएको जानकारी गराइन् । ‘एक महिनामा ३ जनाको मृत्यु भएको छ’, उनले भनिन्, ‘ करोडौँको अन्नबाली नष्ट भएको छ । पिउने पानी र खानाको लागि हात्ती बस्ती र गाउँमा आउन थालेपछि स्थानीयले जाग्राम बस्नुपर्ने बाध्यता छ ।’ हात्ती आक्रमणबाट बच्न स्थानीय तह र स्थानीयलाई नै त्यसबारे जागरूक गराउने काममा प्रदेश सरकारले सहयोग गर्नु पर्ने उनले बताइन्।
हात्ती र मानव द्वन्द्व समाधानका लागि प्रदेश सरकारलाई गम्भीर बन्न उनले आग्रह गरिन् । उनले हात्तीले क्षति पु¥याए राहत र क्षतिपूर्ति लिन असहज भएको गुनासो गरिन् । चेम्जोङले राहत र क्षतिपूर्तिमा पनि सरकारले विभेद गर्दै आएको बताइन् । ‘ प्रक्रियागत झन्झटले राहत र क्षतिपूर्ति पाउनै गाह्रो छ’,उनले भनिन्‘ क्षतिपूर्ति वितरणमा पनि प्रदेश सरकारले ऐलेनी र नम्बरी जग्गा भनेर विभेद गरेको छ ।’ उनले ऐलेनी जग्गामा बनेको घर हात्तीले भत्काए थोरै र नम्बरीमा बनेको घर भत्काए धेरै क्षतिपूर्ति दिने विभेदकारी व्यवस्था गरिएको बताइन् । सांसद तिलचन पाठकले हात्तीको समस्याको बारेमा लामो समयदेखि आवाज उठाउँदै आएको भए पनि सरकारले सम्बोधन गर्न नसकेको गुनासो गरे ।
प्रकाशित: ८ माघ २०८१ १७:३५ मंगलबार