राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्की वैवाहिक जीवनमा बाँधिएका छन्। उनले सबिना श्रेष्ठसँग वैवाहिक बन्धनमा बाँधिएर जीवनको नयाँ सुरुवात गरेका हुन्।
विवाहको दिनलाई विशेष बनाउँदै कार्की दम्पतीले भक्तपुरको मानवसेवा आश्रममा एक दिनको भोजन सेवा प्रदान गरे। सुर्यबिनायक नगरपालिका–२, कौशलटारस्थित मानवसेवा आश्रम भक्तपुर शाखामा उनीहरूले गरिमामय नारायण र बाल गोपालका लागि भोजन सेवा उपलब्ध गराउँदै आफ्नो विवाह समारोह सम्पन्न गरे।
आश्रममा आयोजित यस सेवामूलक कार्यप्रति आश्रमले आभार व्यक्त गर्दै गणेश कार्की र सबिना श्रेष्ठको वैवाहिक जीवन सुखमय, स्वस्थ र सफल रहोस् भनी शुभकामना दिएको छ। कार्की परिवारको यो परोपकारी कार्यले समाजमा सकारात्मक सन्देश फैलाएको भन्दै सराहना गरिएको छ।
सामाजिक सञ्जालमा कार्की दम्पतीको यो कदमलाई प्रेरणादायी भन्दै प्रशंसा गरिएको छ। धेरैले तडकभडकबिनाको यो विवाहले परम्परागत सामाजिक बेथितिहरू तोड्न सन्देश दिएको बताएका छन्।
एकजनाले लेखेका छन्, ‘आफूले गर्न नसकेको कुरा अरूले गर्दा पनि खुसी लाग्ने रहेछ। कार्की दम्पतीको यो कार्यले सबैलाई प्रेरणा दिन्छ। संस्कार भुल्न हुँदैन, तर संस्कारका नाममा हुने बेथिति भने तोड्नुपर्छ।’
प्रकाशित: ४ माघ २०८१ १५:५४ शुक्रबार





