खानेपानी मन्त्री प्रदीप यादवले ९८ प्रतिशत नेपाली नागरिकलाई आधारभूत खानेपानीको पहुँच पुगेको दाबी गर्दै आगामी एक वर्षभित्र शतप्रतिशत नागरिकलाई सेवा उपलब्ध गराउने घोषणा गरेका छन्।
बिहीबार ललितपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री यादवले आधारभूत खानेपानीका क्षेत्रमा सरकार प्रभावकारी रुपमा काम गरिरहेको बताएका हुन्।
उनले हाल २७ प्रतिशत नागरिकले मात्र शुद्ध खानेपानी पिउन पाएको उल्लेख गर्दै यो संख्या आगामी एक वर्षभित्र ५७ प्रतिशत पुर्याउने अठोट व्यक्त गरे।
उनले भने, ‘खानेपानीको क्षेत्रमा कामलाई प्रभावकारी बनाउँदै अघि बढिरहेका छौं। अघिल्लो सरकारले के गर्यो त्यो फरक विषय हो, अबको काम परिणाममुखी हुनेछ। अहिले पनि २ प्रतिशत जनतामा आधारभूत खानेपानी पुर्याउन बाँकी छ। यो चुनौतीलाई सामना गर्दै एक वर्षभित्र सबैलाई सेवा उपलब्ध गराउने प्रतिवद्धता लिएको छु।’
मन्त्री यादवले शुद्ध खानेपानीको अभावका कारण जनस्वास्थ्यमा नकारात्मक प्रभाव परेको र यसले महामारी तथा प्रकोप फैलाउने खतरा बढाएको भन्दै सुधारका लागि व्यापक पहल भइरहेको जानकारी दिए।
उनले काठमाडौं उपत्यकामा रहेको खानेपानी समस्या समाधानका लागि पनि निरन्तर काम गरिरहेको बताउँदै भने, ‘खानेपानी क्षेत्रलाई व्यवस्थित गर्न र दीर्घकालीन समाधानका लागि प्रभावकारी योजना कार्यान्वयन गरिरहेका छौं।’
मन्त्री यादवले सरकार जनताका आधारभूत आवश्यकताप्रति गम्भीर रहेको र यस क्षेत्रमा भएका चुनौतीलाई समाधान गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित: ३ माघ २०८१ १५:४३ बिहीबार