राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव मनोज भट्टले गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन् । प्रतिगमनतर्फ जानु मूर्खता हुने भन्दै उनले राजतन्त्रलाई विकल्पमा उभ्याउन नसकिने बताए ।
अहिलेका दल र सरकार कमजोर हुँदा जनमत बहकिएको उनले बताए । पुराना दलहरूबाट असन्तुष्ट नागरिकले राजतन्त्र नै उत्तम थियो भन्ने भाष्य निर्माण गर्दा राजा सक्रिय भएको उनको भनाई । ‘नयाँ पुस्तालाई पुराना दलको कार्यसम्पादनमा चित्त बुझेको छैन,उनले भने,‘दलहरु ठिक ढंगले नहिँड्दा राजा सक्रिय हुने अवस्था आएको छ ।'
सन्धिखर्कमा राष्ट्रिय जनमोर्चा जिल्ला कार्यसमितिले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कांग्रेस, एमाले, माओवादी जस्ता दलहरु र ती दलका एजेण्डा कमजोर हुँदा राजा बलियो हुँदै गएको बताए । ठुला दलहरु नसच्चिए प्रतिगमनको खतरा बढेको उनको जिकिर छ ।
नेपालमा सङ्घीयता फाल्नुको विकल्प नभएको भन्दै महासचिव भट्टले सङ्घीयता हटाएको दिन देशको आधा समस्या समाधान हुने बताए । सङ्घीयता फाल्नु भनेको गणतन्त्र मासिनु नभएको उनले स्पष्ट पारेका छन् । प्रदेशहरूको खारेजी नै अबको पहिलो विकल्प रहेको बताएका उनले व्यवस्था बचाइराख्न पनि सङ्घीयता फाल्नुपर्ने बताए । ‘राजा सक्रिय हुँदै गएका छन्,भट्टले भने,‘सङ्घीयता नफाले व्यवस्था पनि बचाउन सकिन्न ।’
संविधान संशोधनको एजेन्डासहित दुई ठुला दलहरु मिलेर सरकार गठन भएकाले आफूहरूले सङ्घीयता हटाउन दबाब दिने उनले बताए । दबाब स्वरूप आगामी चैत्र २४ गतेदेखी ३० गतेसम्म राजधानी काठमाण्डौमा सप्ताहव्यापी ‘सङ्घीयता विरुद्धको राजधानी केन्द्रित आन्दोलन’ गर्ने उनले बताए ।
प्रकाशित: २३ पुस २०८१ १७:४४ मंगलबार