नेकपा एमालेको तीन दिन चलेको बैठकले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक स्थायित्व दिन सफल भएको समीक्षा गरेको छ। बैठक सकिएपछि पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सुनाएको निर्णयमा यस्तो उल्लेख छ।
‘सत्तारूढ दलबीचको आपसी विश्वास र समझदारी अझ सुदृढ होस् र यो सरकार ऐतिहासिक अवस्थालाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धि अभिभारा पूरा गर्न र राजनीतिक स्थायित्व हासिल गर्न सफल भएको छ,’ गौतमले भने।
यस्तै, नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले देशमा आशा जगाएको पनि गौतमले बताए। उनले भने, ‘मुख्य दलसहित सात दल मिलेर बनेको सरकारले केही महत्वपूर्ण उपलब्धि हासिल गरेको कुरा र सुशासनका विषयमा सरकारलाई सुझाव दिएको छ।’
बैठकले अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको संगठन सम्बन्धी जानकारी पारित गरेको छ। यस्तै, थप १४ वटासमसायिक विशेष प्रस्ताव पारित गरेको पनि गौतमले बताए।
प्रकाशित: २३ पुस २०८१ १६:३३ मंगलबार