नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशका प्रमुख भ्रष्टाचार काण्डहरूको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन्। उनले २०८४ सालसम्म नेपाललाई भ्रष्टाचारमुक्त समाज बनाउनु अपरिहार्य रहेको बताए।
काठमाडौंमा मंगलबार नेपाल प्रजातन्त्र सेनानी संघ, बागमती प्रदेशद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री थापाले जनताले सुनेका सबै भ्रष्टाचारका काण्डहरूको अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा सर्वशक्तिशाली आयोग गठन गर्नुपर्ने धारणा राखे।
उनले भने, "भ्रष्टाचारकै कारण देशले गति लिन सकेन भन्ने आम नागरिकको गुनासो छ। वाइडबडी काण्ड, ललिता निवास काण्ड, गिरिबन्धु काण्ड, सिभिल काण्डजस्ता थुप्रै प्रकरणहरू छन्। यी सबैको सूची तयार गरी जनतालाई आश्वस्त पार्नुपर्छ। अख्तियारले छानबिन गर्न नसक्ने अवस्थामा सर्वशक्तिशाली आयोग गठन गरेर दोषीलाई कारबाही गर्नुपर्छ।"
महामन्त्री थापाले कानुनभन्दा माथि कोही पनि नहुने सन्देश स्थापित गर्नुपर्नेमा जोड दिए। उनले बलियो र सार्वजनिक ओहदामा रहेका व्यक्तिहरू दोषी ठहर भए पनि उनीहरूलाई उन्मुक्ति दिन नहुने बताए। उनका अनुसार भ्रष्टाचारमा संलग्न जो कोही, चाहे ती प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री वा सांसद किन नहोस्, कानुनी कारबाहीबाट उम्किन नहुने प्रस्ट सन्देश समाजमा दिन जरुरी छ।
"नेपालमा सार्वजनिक ओहदामा बसेर भ्रष्टाचार गर्ने व्यक्तिलाई समाजले १५–२० वर्षपछि पनि सजायको दायरामा ल्याउनसक्छ भने मात्र देश सही बाटोमा अघि बढ्न सक्छ," महामन्त्री थापाले थपे।
उनले नेपाली कांग्रेसले सधैं कानूनको शासन मान्ने प्रतिबद्धता व्यक्त गरे। साथै, भ्रष्टाचारमा संलग्न मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्नुपर्ने माग पनि राखे।
प्रकाशित: २३ पुस २०८१ १६:२९ मंगलबार