रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ । लामिछानेविरुद्ध बुधबार जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोद ढुङ्गेलका अनुसार अदालतले लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
'उहाँ (रवि लामिछाने) सहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ,' एसपी ढुङ्गेलले नागरिकसँग भने ।
पर्साको सानो पाइला सहकारीको रकम अपचलन प्रकरणमा लामिछाने पनि मुछिएको प्रतिवेदनले देखाएपछि उनलाई पक्राउ गरेर अनुसन्धान गर्नका लागि अदालतले पुर्जी जारी गरेको हो ।
यद्यपि, लामिछाने अहिले प्रहरी नियन्त्रणमै छन् । अरु सहकारी ठगी प्रकरणमा समेत मुछिएका लामिछाने अहिले चितवनमा छन् । उनले त्यहाँको साहारा सहकारीको रकम अपचलनसम्बन्धी बयान दिइरहेका छन् ।
उनले यसअघि नै पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबारे बयान दिइसकेका छन् ।
प्रकाशित: १९ मंसिर २०८१ १६:४८ बुधबार