२० मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

चितवनमा रविको बयान सकिएन, बुधबार पनि हुने

सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि चितवन ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान नसकिएपछि बुधबार पनि लिइने भएको छ।

मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ साढे ४ बजे स्थगित गरिएको सरकारी वकिल कार्यालय चितवनका न्यायधिवक्ता शान्तिराज लुँइटेलले जानकारी दिए।

‘आजको बयान साँझ साढे ४ बजेसम्म गरेर स्थगित भयो। भोलि कार्यालय समय सुरु भएपछि पुनः सुरु हुन्छ’–उनले भने। पहिलो दिन प्रारम्भिक प्रश्न मात्र गरिएको न्याधिवक्ता लुँइटेलले जानकारी बताए। ‘अहिले हामी प्रारम्भिक प्रश्नमा मात्र छौँ’, उनले भने ‘भोलि गहिराइमा गएर बयान लिन्छौँ।’ उनका अनुसार लामिछानेसँग लिखित बयान लिइएको छ । सरकारी वकिल र अनुसन्धान अधिकृतले संयुक्त बयान लिएका छन् । सकेसम्म भोली बयान सक्ने तयारी भएको उनले बताए।

सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई काठमाण्डौँबाट आज मंगलबार बिहान चितवन ल्याइएको थियो। प्रहरीले उनलाई विमानस्थलबाट प्रहरी कार्यालय लगेर बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको थियो।

लामिछानेविरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले मंसिर ५ गते लामिछानेसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

साहरा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ । साहारा सहकारीमा ६ हजार ३३४ बचत कर्ता छन्। त्यसमध्ये जिल्ला प्रहरी कार्यालयमा ४४६ जनाले सो रकमको माग सहित उजुरी दिएका थिए। साहाराको सफ्टवेयरमा हेर्दा ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ पैसा हिनामिना भएको देखिन्छ। तर, हालसम्म उजुरी १४ करोड ६७ लाख ७७२ रुपैयाँको माग दाबी गर्न कोही गएका छैनन्। गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकमा रहेको खातामा जम्मा भएको रकममध्ये ४७ करोड बराबरको कारोबार शङ्कास्पद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यसअघि असोज ८ गते साहारा सहकारीको बचत रकम हिनामिना प्रकरणमा जीबी राईसहित १७ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ। यसअघि बचत कर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको थियो।

चितवन लामिछानेको निर्वाचन क्षेत्र पनि हो। उनलाई चितवन ल्याइने भएपछि सुरक्षा चुनौती हुने देखेपछि प्रहरी प्रमुख एसपी मिश्रले कुन उडानमार्फत लामिछानेलाई चितवन ल्याइने भन्ने जानकारी सार्वजनिक गरेका थिएनन्।

साहरा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र नेचर हब इन्टरनेशनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई आइतबार र सोमबार बयान लिइएको छ।  उनीहरूलाई आइतबार चितवन ल्याएर हिजो बयान सकिएको थियो। रविका समर्थकले भरतपुरमा प्रदर्शन गरेका थिए। 

प्रकाशित: १८ मंसिर २०८१ १८:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App