१२ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माइतीसँग प्रतिस्पर्धा गर्दै कुमारीले जितिन् वडाध्यक्ष

सिरिजंगा गाउँपालिका-३ को वडाध्यक्षमा एमाले उम्मेदवार कुमारी साउदेन विजयी भएकी छन्। साउदेन ताप्लेजुङकी एक्ली महिला वडाध्यक्ष भएकी छन्। ६१ वटा वडा रहेको यहाँका अरू ६० वटा वडाका वडाध्यक्ष पुरुष छन्। उनका निकटतम प्रतिस्पर्धी अम्बी साउदेन र कुमारी दिदीभाइ (काका–बडाबाका छोराछोरी) हुन्। अम्बी २०७९ सालको स्थानीय तह निर्वाचनबाट वडा सदस्यमा निर्वाचित भएका थिए। तत्कालीन वडाध्यक्ष बोखिम वैदेशिक रोजगारीमा गएयता अम्बीले त्यहाँको कार्यवाहक वडाध्यक्ष भएर काम गरेका थिए।

उपनिर्वाचनमा अम्बीले वडा सदस्यबाट राजीनामा दिएर वडाध्यक्ष चुनावमा प्रतिस्पर्धा गरे। तीन सय ५३ मत प्राप्त गरी कुमारी वडाध्यक्ष बन्दा उनका भाइ अम्बी दुई सय ५२ मतसहित निकटतम प्रतिस्पर्धी बने। कांग्रेसका भीमकुमार लक्सम्बाले २१८ मत ल्याए। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र काङ्वा लिम्बूले ५४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेलले सात मात्र ल्याए।

शुद्धोदन– १ मा एमाले

कपिलवस्तुबाट किरणमान बज्राचार्यले पठाएको समाचारअनुसार कपिलवस्तुको शुद्दोदन गाउँपालिका– १ मा एमालेका मोहम्मद तहिर मुसलमान वडाध्यक्षमा विजयी भएका छन्। उनी कांग्रेसका दिनेशकुमार यादवलाई ७४ मन्तान्तरले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मुसलमानले एक हजार एक सय ५० र यादवले एक हजार ७६ मत ल्याएका छन्। जनमतका सीताराम पटेलले चार सय २३, जसपाका रामबहादुर कुर्मीले तीन सय ४१, माओवादी केन्द्रका रफिक मोहोम्मदले एक सय ३८ मत र रास्वपाका अवधेशकुमार कुर्मीले ९२ मत हासिल गरेका छन्। राप्रपाका इनताज अहमद धोबीले ६६, नेकपा एसका सुब्वा थारूले १५ मत पाएका छन्।

यस्तै स्वतन्त्र उम्मेदवार अब्दुल अब्बल फकिरले एक मत पाएका छन्। चार उम्मेदवार भने शून्य मत पाएका छन्। निर्वाचनमा १० राजनीतिक दल र चार स्वतन्त्र गरी १४ उम्मेदवार बनेका थिए। कुल चार हजार आठ सय ६८ मतदाता रहेको सो वडामा तीन हजार तीन सय ७९ मतदान भएको थियो।

आफ्नै मतसमेत अरूलाई दिने उम्मेदवार

कपिलवस्तुको शुद्धोदन गाउँपालिका-१ मा सम्पन्न उपनिर्वाचनमा चारजना उम्मेदवारले आफ्नो मत अरूलाई दिएका छन्। एक राजनीतक दल र तीन स्वतन्त्र उम्मेदवारले आफ्नो मतसमेत आफूलाई नहाली अरू उम्मेदवारलाई हालेका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार ती चारजना उम्मेदवारले शून्य मत पाएका छन्। जसपाका रमेशकुमार पाण्डेय तथा स्वतन्त्र उम्मेदवार पुजारी थारू, अब्दुल मुयियद मुसलमान र सर्वजित मल्लाहले शून्य मत पाएका छन्।

सुनसरीको गढी ६ मा कांग्रेस

इटहरीबाट नागरिक संवाददाताले पठाएको समाचारअनुसार सुनसरीको गढी गाउँपालिका-६ को वडाध्यक्षमा कांग्रेसका तेतर साहु विजयी भएका छन्। उनी आठ सय १६ मत ल्याएर विजयी भएका हुन्।

उनको निकतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुशेश्वर खेरवारले सात सय ९४ मत ल्याए। यस्तै, एमालेका उम्मेदवार सन्तु उरावले सात सय ७० मत ल्याए। राष्ट्रिय प्रजातन्त्र पार्टीकी कविता उरावले ८७, राष्ट्रिय स्वतन्त्र पार्टीका शशीकुमार साहुल ३३, जनता पार्टीका सीताराम यादवले ३०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजोदेवी ऋषिदेवले ११, समावेशी समाजवादी पार्टी नेपालका योगनारायण ऋषिदेवले १२, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बच्चालाल यादवले १०, स्वतन्त्र उम्मेदवार श्यामदेव महत्तोले तीन, राम नारायण यादवले दुई र नागरिक उन्मुक्ति पार्टीका तेजनारायण मुसहरले एक मत प्राप्त गरेका छन्। गढी– ६ मा तीन हजार ६२२ मतदाता रहेकोमा दुई हजार ६४५ मत खसेको थियो।

रौतहटमा तीनमध्ये दुईमा कांग्रेस र एकमा नेकपा एस

रौतहटबाट मदन ठाकुरले पठाएको समाचारअनुसार रौतहटका तीन पालिकाका तीन वडामा अध्यक्षका लागि भएको उपनिर्वाचनमा दुई वडाध्यक्षमा कांग्रेस र एक वडाध्यक्षमा नेकपा एस विजयी भएका छन्। रौतहटको इशनाथ नगरपालिका– ७ मा कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन्। खलिकले ६२७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका शेख अनवारले पाँच सय ७५ मत ल्याएका छन्।

यसैगरी राजपुर नगरपालिका– ६ मा कांग्रेसका समसे आलम विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जिकरुलाहले चार सय ६३ मत ल्याएका छन्।

यसैगरी गढीमाई नगरपालिका– ८ मा नेकपा एसका बजरंगीप्रसाद यादव ६ सय ५५ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी जिउती देवी यादवले ६३१ मत प्राप्त गरेकी छन्।

रोल्पामा कांग्रेस

रोल्पाबाट दिनेश सुवेदीले पठाएको समाचार अनुसार रोल्पाको रुन्टीगढी गाउँपालिका– ४ मा वडा अध्यक्ष पदका लागि भएको निर्वाचनमा कांग्रेसका भूपमणि पुनमगर विजयी भएका छन्। एक हजार दुई सय ९७ मत खसेकोमा उनी ६ सय ४३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बेगम पुनले पाँच सय ३५ मत ल्याए भने माओवादीका उम्मेदवार नरेशजंग सिंहले ७० मत प्राप्त गरेका छन्।

राप्रपा र मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवारले सातसात मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्रका उम्मेदवारले १० मत प्राप्त गरेको कांग्रेसका जिल्ला सचिव शेरबहादुर थापाले बताए।

प्रकाशित: १८ मंसिर २०८१ ०९:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App