१७ मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

रास्वपाका लागि उपनिर्वाचन : 'पहिलो गाँसमै ढुङ्गो' !

मंसिर १६ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २७ ठाउँमा उम्मेदवारी दिएको थियो । तर, ४४ पदका लागि भएको उपनिर्वाचनमा रास्वपाले जम्माजम्मी एउटा वडा, काठमाडौं महानगरपालिका १६ जित्यो ।

त्यसो त रास्वपा स्थानीय तह निर्वाचनमा सहभागी भएको यो पहिलो पटक हो । अघिल्लो स्थानीय तह निर्वाचन हुँदा 'गर्भमै रहेको' रास्वपाका अहिले अधिकांश स्थानमा जमानत नै जफत भएको छ ।

यतिसम्म कि उम्मेदवारी दिएको १२ स्थानमा त रास्वपाले १०० मतसमेत कटाएको छैन । जहाँ १०० कटाएको छ, त्यसमा पनि ३०० कटेको छैन ।

यसखाले चुनावी नतिजाले रास्वपालाई नमज्जाले झट्का लागेको छ । जस्तो चुनावी नतिजा देखा पर्‍यो, त्यसका प्रति रास्वपा नेताहरूले आश्चर्य प्रकट गरेका छन् ।

'सङ्गठनलाई ग्राउन्ड तहसम्मै विस्तार गर्नुपर्ने रहेछ'

पार्टी गठन भएको पाँच महिना पुग्दानपुग्दै प्रतिनिधिसभा निर्वाचनमा होमिएको रास्वपाले अनपेक्षित नतिजा हात पारेको थियो । उक्त निर्वाचनमा जस्तो नतिजा हात पर्‍यो, त्यसको अपेक्षा स्वयम् पार्टीका सभापति रवि लामिछानेले समेत गरेका थिएन । तर, पुराना दल र नेतासँग वाक्कदिक्क भएर बसेका मतदाताहरूले त्यही रास्वपालाई विकल्पका रूपमा मतदान गरे ।

तर, स्थानीय तह उपनिर्वाचनसम्म आइपुग्दा त्यो जनमत खस्किएको देखियो । यद्यपि, रास्वपा नेताहरू भने यो स्वीकार्दैनन् । उनीहरूको जिकिर छ कि यसपटक उपनिर्वाचन खासगरी रास्वपाले सङ्गठन विस्तार नगरिसकेको स्थानहरूमा मात्र भयो ।

रास्वपा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटी भन्छन्, 'यसपटक उपनिर्वाचन खासगरी हामीले सङ्गठन विस्तार नगरिसकेको स्थानहरूमा मात्र भयो । त्यसको बाबजुद पनि हामीले भाग लियौँ । तर, त्यहाँ समितिमा बस्नुभएका नेता साथीहरू नै विदेशतिर हुनुहुन्थ्यो । यसर्थ, हामीले अपेक्षित नतिजा हात पार्न सकेनौँ । जे प्राप्त गरेका छौँ, त्यसका प्रति सम्मान नै छ ।'

कार्यवाहक महामन्त्री बुर्लाकोटी उपनिर्वाचनले सङ्गठन तल्लै तहसम्म बनाउनुर्ने रहेछ भन्ने ज्ञान दिएको बताउँछन् । 'स्थानीय निर्वाचनमा यो हाम्रो पहिलो संलग्नता हो । यसले हामीलाई उपनिर्वाचनमा के हुन्छ, कस्ता चुनौतीहरू हुन्छन्, एजेन्डाहरू कसरी सेट गर्ने भन्नेखाले कुराको अनुभव गरायो । यसले हामीलाई सङ्गठन ग्राउन्ड तहसम्म विस्तार गर्नुपर्दो रहेछ भन्नेबारे सिकायो । यो समग्रमा सिकाइका रूपमा रह्यो,' उनले भने ।

रास्वपा स्थानीय तह उपनिर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुली पनि यो उपनिर्वाचनलाई सिकाइकै रूपमा लिन्छन् । 'राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय तहको निर्वाचनमा सहभागी भएको यो पहिलो अवसर थियो । तसर्थ, हाम्रा लागि यो चुनाव एक नयाँ अनुभवका रूपमा रह्यो,' उनले भने ।  

सभापतिमाथिको आरोपको असर 

त्यसो त सुरुताका रास्वपा सभापति रवि लामिछानेको एउटा नारा थियो— 'नो नट एगेन' ।

पुराना दल र त्यसका नेतालाई गाली गर्दै राजनीतिक 'स्पेस' बनाएका लामिछाने पछि ती नै नेताहरूसँग ढलिमली बसे । उनको राजनीतिक तथा व्यक्तिगत प्रवृत्ति पुराना दलका नेताहरूको भन्दा फरक भएन । त्यसपछि कतिपय मान्छेहरूले त यसोसम्म भने कि रवि लामिछाने पुराना दलका नेताहरूभन्दा 'खत्तम' निस्के !

हुन पनि २० सिटसहित प्रतिनिधिसभा प्रवेश गरेपछि रवि लामिछाने जहाँ पनि, जहिले पनि ठीक्क भए । शेरबहादुर देउवासँग पनि ठीकै, केपी शर्मा ओलीसँग पनि ठीकै अनि पुष्पकमल दाहालसँग पनि ठीकै । यसरी उनी दुई दुईपटक उपप्रधान एवम् गृहमन्त्री बने । तर, उनको पार्टीले पाएको जनमत सरकार बनाउनका निम्ति थिएन । त्यो स्वयम् रास्वपाकै नेताहरू स्वीकार्छन् । 

भलै अहिले उनको कथा फरक छ । अहिले उनी प्रहरी हिरासतमा छन् । सहकारी गठीसम्बन्धी मुद्दामा पक्राउ परेका उनीमाथिको आरोप पुष्टि होला, नहोला तर, त्यसको असर भने यो उपनिर्वाचनमा देखियो । 

उसो त चुनावपूर्वको घरदैलो कार्यक्रममा रास्वपा उम्मेदवारहरूले पार्टी सभपाति रवि लामिछानेमाथिको आरोपहरूको जवाफ दिँदै हिँड्नुपरेको छ । यसअघि भएका दुईवटा उपनिर्वाचनमा पनि उम्मेदवारहरूले पार्टी सभापति रवि लामिछानेमाथिको आरोपहरूको जवाफ दिँदै हिँड्नुपरेको थियो ।

यसपटकको उपनिर्वाचनमा पनि त्यही थियो । रास्वपाले कीर्तिपुरमा उम्मेदवारी दिएन । त्यहाँ स्वतन्त्र स्वतन्त्र उम्मेदवारी दर्ता गराएकामध्ये एक जनालाई घण्टी चुनाव चिह्नबाट चुनाव लड्नका लागि प्रस्ताव गरेको तर, पार्टी सभापति र पार्टीको छवि धुमिल रहेको भन्दै पन्छिएका थिए । यसबारे रास्वपाका एक नेता भन्छन्, 'स्वाभाविक रूपमा त्यहाँको पार्टी कमिटीले विभिन्न स्वतन्त्र उम्मेदवारहरूसँग छलफल गर्‍यो, वार्ता गर्‍यो तर, अन्तिममा मिलेन ।'

यसरी हेर्दा धेरै ठाउँमा रास्वपाको जमानत नै जफत हुनुमा पार्टी सभापति रवि लामिछानेमाथिका अनेकन् आरोपहरूसमेत सहयोगी बनेको देखिन्छ ।

'सङ्गठनात्मक रूपमा रास्वपा कमजोर नै छ'

राजनीतिक विश्लेषकहरू सङ्गठनात्मक रूपमा रास्वपा अझै निकै कमजोर रहेको विश्लेषण गर्छन् । राजनीतिक विश्लेषक पिताम्बर भण्डारी भन्छन्, 'यो उपनिर्वाचनले रास्वपा सङ्गठनात्मक रूपमा कमजोर नै छ भन्ने पुष्टि गर्‍यो ।'

त्यसोभए काठमाडौं १६ मा कसरी जित्यो ? भण्डारीको जवाफ छ, 'यसले चाहिँ सहरका मतदातामा पुराना दल र नेताका प्रति वितृष्णा कायमै छ र त्यो जमातले सङ्गठनलाई भन्दा पनि व्यक्तिलाई चुन्छ भन्न देखाउँछ तर, बाहिरी भूभागहरूमा हेर्नुस् त, रास्वपा उम्मेदवारहरूको जमानत जफत भएका छन् ।'

अर्का राजनीतिक विश्लेषक डम्बर खतिवडा यो उपनिर्वाचनपछि विकल्प दिन्छौँ भन्नेहरू झन् गुणस्तरहीन भएका होइनन् भन्ने सवाल उब्जिएको बताउँछन् ।

'आम नागरिक र मतदाता पुराना दल र तिनको शासन शैलीबाट दिक्क छन् भनिन्थ्यो, म पनि भन्थेँ । अब सबैले सोच्नुपर्ने मुख्य प्रश्नचाहिँ जनता पुराना दल र नेतासँग, तिनको शासनशैली र परिणामसँग खुसी वा सन्तुष्ट नै छन् कि विकल्प दिन्छौँ भन्नेहरू झन् कमजोर, अविश्वसनीय र गुणस्तरहीन भए भन्ने हो,' विश्लेषक खतिवडा भन्छन् ।

प्रकाशित: १७ मंसिर २०८१ २०:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App