प्रधानमन्त्री केपी शर्मा ओली र उनको भ्रमण दल हाल चीनको राजधानी बेइजिङस्थित सरकारी अतिथि गृह देउताइ स्टेट गेष्ट हाउसमा विश्राम गरिरहेको छ।
चार दिवसीय औपचारिक चीन भ्रमणका लागि आज बेइजिङ आइपगेका प्रधानमन्त्री ओलीलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गरेका थिए।
प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा चीन भ्रमणमा छन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ र चीनका अन्य उच्चस्तरीय नेताहरूसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्ने कार्य तालिका रहेको छ। उनको भ्रमण तालिकामा पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने र नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ।
प्रधानमन्त्री ओलीका साथ धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसदहरू, सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीहरू समावेश प्रतिनिधिमण्डल पनि सहभागी रहेको छ।
उक्त भ्रमणबाट नेपाल–चीन सम्बन्ध थप सुदृढ हुने विश्वास लिइएको छ। प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डल मङ्सिर २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
प्रकाशित: १७ मंसिर २०८१ १८:५९ सोमबार