मुख्य निर्वाचन अधिकृतको कार्यालयले ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ को वडाध्यक्ष उपनिर्वाचनका लागि मतदान अधिकृत तोकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत दलबहादुर तामाङका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्त गरी अनुशिक्षण गर्न थालिएको छ ।
सरस्वती मावि कुञ्जारी मतदान केन्द्रमा सिरिजङ्गा गाउँपालिकाका प्राविधिक(छैटौं) योगेन्द्र पौडेल निर्वाचन अधिकृत तथा सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाका वडासचिव तायाहाङ राई सहायक निर्वाचन अधिकृत तोकिएका छन् । कुञ्जारी मतदान केन्द्रमा १ हजार २६ मतदाता रहेका छन् ।
यस्तै दुर्गा मावि ओसे मतदान केन्द्रमा ताप्लेजुङ जिल्ला अदातलमा नायव सुब्बा रमेश तामाङ निर्वाचन अधिकृत तोकिएका छन् । त्यहाँका लागि ताप्लेजुङ जिल्ला अदालतकै कर्मचारी रोनिश भण्डारी सहायक मतदान अधिकृत नियुक्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालले जनाएको छ । ओसे मतदान स्थलमा ५ सय २ जना मतदाता रहेका छन् ।
मुख्य निर्वाचन अधिकृत तथा ताप्लेजुङ जिल्ला अदालतमा न्यायाधीश विकास श्रेष्ठले मतदान केन्द्रमा खटिने एक मतदान अधिकृत र एक सहायक मतदान अधिकृत गरी दुईवटा मतदान केन्द्रका ४ जना तथा जगेडामा राखिने थप दुई मतदान अधिकृत सहित गरी ६ जनालाई तालिम दिईएको जानकारी दिए ।
निमित्त जिल्ला निर्वाचन अधिकारी वान्दवराज(विपिन) दुलालका अनुसार प्रत्येक मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, २ जना सहायक कर्मचारी, एकजना सहयोगी कर्मचारी र एकजना महिला स्वयंसेवक गरी कूल ६ जना कर्मचारी परिचालित हुनेछन् ।
प्रकाशित: १२ मंसिर २०८१ १५:०१ बुधबार