सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्ति गरेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
उनले भने, ‘मन्त्रीपरिषद्को बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई मनोनित गरेको छ। सम्माननीय प्रधानमन्त्रीको चीन भ्रमणको सन्दर्भमा मान्य परराष्ट्रमन्त्री आरजु राणा देउवाको मंसिर १३ गतेदेखि १५ गतेसम्मको भ्रमणको प्रतिनिधि मण्डलको जुन जुन सदस्य हुनुहुन्छ, चीनको भ्रमणको स्वीकृति प्रदान भएको छ।’
उनका अनुसार सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सन्दर्भमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको मंसिर १३ गतेदेखि १५ गतेसम्मको भ्रमणको प्रतिनिधि मण्डलका सदस्यहरुको भ्रमण स्वीकृत गरेको छ।
प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि चीनको भ्रमण गर्दै छन्।
प्रकाशित: १० मंसिर २०८१ २०:१० सोमबार