प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले चीनको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ)परियोजना अन्तर्गत ऋण लिनै नहुने सत्तारुढ कांग्रेसको अडानप्रति आपत्ति जनाएका छन्।
सोमबार आफ्नो चीन भ्रमणबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको पूर्व प्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुको छलफलपछि सञ्चारकर्मीमाझ उनले यस्तो प्रतिक्रिया जनाएका हुन। सम्मानित नेता खनालले भूराजनीतिको नाममा बीआरआई परियोजना अन्तर्गत ऋण लिनुहुन्न भन्ने अडान पूर्वाग्रही भएकाले त्यस्तो सोचबाट प्रधानमन्त्री ओली प्रभावित हुन नहुने बताए।
उनले सो परियोजना विश्वका दुई तिहाइ मुलुकले स्वीकार गरिसकेको उल्लेख गर्दै नेपालजस्तो सार्वभौम देशले पनि आफ्नो आवश्यकताको आधार अघि बढाउनुपर्ने सुझाव आफूले प्रधानमन्त्री ओलीलाई दिएको पनि स्पष्ट पारे।सो परियोजनालाई अघि बढाउने सन्दर्भमा सरकार कुनैपनि खालको आग्रह वा पूर्वाग्रहको पासोमा पर्न नहुने खनालको भनाई थियो।
बीआरआई परियोजना ऋण लिने वा अनुदान लिने भन्ने कुरा नेपाल आफैले फैसला गर्ने भएकाले त्यसमा अरु देशको दबाबको कुनै अर्थ नहुने पनि सम्मानित नेता खनालले दोहोर्याए।
प्रकाशित: १० मंसिर २०८१ १४:५३ सोमबार