सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटालाई कारबाही नगर्ने निर्णय लिएका छन् ।
पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जानकारी गराउँदै जनमतले यसअघि पटक-पटक सांसद सापकोटालाई कारबाही गर्नका लागि संसद् सचिवालयलाई पत्राचार गरेको थियो । तर, सभामुख घिमिरेले कारबाही नगर्ने निर्णय लिएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
जनमतले भने सभामुख घिमिरेको यो निर्णयलाई 'रङ्गभेदी' कदमका रूपमा व्याख्या गरेको छ । जनमतका प्रवक्ता शरदसिंह यादवले भने, "सभामुखज्यूले रङ्गभेदी, नश्लीय र मधेसीप्रति विभेदपूर्ण निर्णय लिनुभयो । उहाँले अधिकार क्षेत्र बाहिरको अभ्यास गर्नुभयो ।"
प्रवक्ता यादवले सभामुख घिमिरेले आफ्नो नातेदार पर्ने भएकाले पार्टीको पत्राचारअनुसार सांसद सापकोटालाई कारबाही नगरेको आरोप लगाएका छन् । "उहाँको नातेदार पर्ने रहेछ । त्यसैले पूर्वाग्रही निर्णय भएको हो," उनले भने ।
उनले पार्टीले यो विषयलाई सडकदेखि सदनसम्म उठाउनेसमेत बताए ।
जनमतले सांसद सापकोटाले पार्टी फुटाउनेसम्मको गतिविधि गरेकाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जनाएको छ । सापकोटा जनमत पार्टीकी समानुपातिक सांसद हुन् ।
प्रकाशित: ७ मंसिर २०८१ १८:०६ शुक्रबार