६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

उदयपुर उपनिर्वाचन: कसैले लिएनन् उम्मेदवारी फिर्ता

मुख्य निर्वाचन अधिकृतको कार्यालय। तस्बिरः महेश्वर

यही मङ्सिर १६ गते हुन लागेको रिक्त २ वडाध्यक्षको उपनिर्वाचनमा उदयपुरमा मनोनयन दर्ता गर्ने १६ जना सबै उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्।

बुधबारसम्मको उम्मेदवारी फिर्ता गर्ने समयसीमाभित्र कसैले नाम फिर्ता नलिएसँगै सबै उम्मेदवार चुनावी मैदानमा उत्रिने भएका हुन्।

त्रियुगा नगरपालिका १२ को रिक्त वडाध्यक्षमा १ स्वतन्त्रसहित ९ जनाको चुनावी प्रतिस्पर्धा हुने भएको छ। निर्वाचन आयोगले तोकको नाम फिर्ता लिने अन्तिम समय बुधबार दिउँसो ३ः०० बजेसम्म तोकिएको थियो। सो अवधिभित्र कसैले नाम फिर्ता नलिएपछि चुनाव चिन्ह वितरण गरिएको हो।

निर्धारित समय अनुसार सबै उम्मेदवारलाई चुनाव चिन्ह वितरण गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी दिलिप थापा मगरले बताए। उनका अनुसार अन्य उम्मेदवारले पार्टीको चुनाव चिन्ह पाएका छन् भने स्वतन्त्र उम्मेदवार वजरङ्गबली कुमार दासलाई ‘चापा कल’ चुनाव चिन्ह दिइएको छ।

त्रियुगा १२ मा काँग्रेसबाट सञ्जीव काफ्ले, एमालेबाट लक्ष्मीनारायण चौधरी र माओवादी केन्द्रबाट नवीनकुमार बान्तवा राई वडाध्यक्षको दाबेदार छन्। एकीकृत समाजवादीबाट निर्मला चौधरी, रास्वपा बाट ध्रुव पोखरेल र नागरिक उन्मुक्ति पार्टीबाट चन्द्रकला चौधरी आकांक्षी रहेको चुनावमा जनमत पार्टीबाट प्रमोद मलाहा सहनी र राप्रपाबाट लालबाबु साहको उम्मेदवारी परेको छ।

उता बेलका नगरपालिका ९ मा पनि कसैको उम्मेदवारी फिर्ता नभएपछि सबैलाई चुनाव चिन्ह वितरण गरिएको छ। बेलका ९ को वडाध्यक्षका लागि काँग्रेस, एमाले र माओवादी केन्द्रसहित ७ जनाको उम्मेदवारी परेको छ।

कांग्रेसले नवराज बस्नेतलाई उठाउँदा एमालेले मोहन खड्कालाई उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रबाट भरत घिमिरेले टिकट पाएका छन्। त्यसैगरी जनता समाजवादी पार्टीबाट राजकुमार राई उठ्दा रास्वपाले तेजुमान विश्वकर्मालाई उठाएको छ। राप्रपाले टीकाराम फुयाल र नेश्नल मङ्गोल अर्गनाईजेसनबाट सूर्य तामाङ उम्मेदवार बनेको निर्वाचन अधिकृत मनोजकुमार गुप्ताले बताए।

त्यहाँका उम्मेदवारहरूलाई पनि निर्धारित समयभित्रै चुनाव चिन्ह वितरण गरिएको गुप्ताले बताएका छन्।

त्रियुगा १२ र बेलका ९ का वडाध्यक्षहरूको सवारी दुर्घटनामा परेर निधन भएपछि रिक्त हुन गएको पदमा उपनिर्वाचन हुन लागेको हो। ०७० को स्थानीय तह निर्वाचनमा काँग्रेसबाट निर्वाचित त्रियुगा १२ का वडाध्यक्ष चुडाराज काफ्लेको सोही वर्ष शिवरात्रिको साँझ मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो।

त्यसैगरी कांग्रेसबाटै विजयी बेलका ९ का वडाध्यक्ष पदम खड्काको पनि गएको जेठमा मोटरसाइकल दुर्घटनामै परेर निधन भएपछि पद रिक्त भएको थियो।

चुनाव चिन्ह पाएसँगै उम्मेदवारहरू चुनावी प्रचारप्रसार अभियानमा लागिसकेका छन्। निर्वाचन आयोगले आउँदो १३ गते मध्यराति १२ः०० बजेसम्म प्रचारप्रसारको समय दिएको छ। त्यसपछि मतदान हुनुपूर्वको बाँकी ४८ घण्टा भने मौन अवधि तोकिएकाले प्रचारप्रसार गर्न नपाइने सूचना अधिकारी मगरले बताए। 

प्रकाशित: ५ मंसिर २०८१ १७:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App